मच्छिन्द्र फुटबल क्लब जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
बुधबार बागमती नगपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा ट्राइब्रेकरमा ५–३ गोल अन्तरले आयोजक बागमती युवा क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब विजयी भएको हो। याे संघर्षपूर्ण जित निकालेको मच्छिन्द्रले जारी प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ।
निर्धारित ९० मिनेट र थप २० मिनेटको समय अवधिमा १–१ को बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट निकालिएको थियो।
ट्राइब्रेकरमा आयोजक बागमतीका खेलाडी देवा लामा अभागी साबित भए। उनले प्रहार गरेको बल मच्छिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले सजिलै नियन्त्रणमा लिए।
खेलको ५०औँ मिनेटमा खेलाडी राज भुसालको गोलबाट अग्रता कामय गरेको आयोजक बागमती सम्हालिएर खेल्न नसक्दा हार बेहोर्न बाध्य भयो। खेलको पहिलो हाफ निकै संघर्षपूर्ण प्रदर्शन गरेको बागमतीका खेलाडी लयमा फर्किएका थिए।
दोस्रो हाफको केही समय आक्रामक बनेका बागमतीका खेलाडीले लयलाई निरन्तरता दिन सकेनन्। आफूलाई लयमा फर्काएको मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले खेलको ७९औँ मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए।
ट्राइब्रेकरमा नायक साबित भएका मच्छिन्द्रका गोल रक्षक विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै ट्रफी र १० हजार नगद हात पार्न सफल भए।
जितसँगै मच्छिन्द्रले सेमिफाइनलमा सुदूरपश्चिम–११ सँगको भेट पक्का गरेको छ। सुदूरपश्चिम–११, धनगढी प्रिक्वार्टरफाइनलमा पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल क्लब दार्जिलिङलाई र क्वार्टरफाइनलमा चर्चब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
यस्तै, बिहीबारकाे पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब, ललितपुर र संकटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको हो।
खेल सोचेअनुसार हुन सकेन : प्रवेश कटुवाल प्रशिक्षक मच्छिन्द्र
हामीले सोचेजस्तो खेल्न सकेनौँ। खेल अवधिभरको अवस्था पनि कठिन रह्यो। आयोजक क्लब पनि सी डिभिजन छनाेट भएको टिम हो। उनीहरूको मेहनत धेरै थियो। ट्राइब्रेकरमा नतिजा निकाले पनि खेल निकै कठिन भयो।
यस पहिलाको खेलमा पनि आयोजकको निकै राम्रो थियो। प्रदर्शन आज थप सुधारिएको खेले। हाम्रा खेलाडी लामो यात्राका कारण थाकेकोले पनि हामीलाई गाह्रो भएको थियो । आगामी खेलमा हामी थप मेहनत गछौँ । आशा छ, धेरै राम्रो हुनेछ।
लगातारको खेल र खेलाडी घाइते भए : रोजित केसी, प्रशिक्षक बागमती युवा क्लब
लगातार परेको खेलका कारण खेलाडी थकित देखिए। खेलको पहिलो हाफ र दोस्रो हाफसम्म पनि उनीहरू सम्हालिएर खेले। दोस्रो हाफको केही मिनेट हाम्रो लागि दुर्भाग्य रह्यो। खेल अवधिमा पाएको अग्रता बढाउने मौका पनि सदुपयोग गर्न सकेनौँ।
सोमबार बर्दिवासमा खेलेपछि टिम मंगलबार हेटौँडा पुगेको थियो। हेटौँडामा खेलेर गएराति अबेर मात्र आएको थियो । आराम नपाएका र केही राम्रा खेलाडी यस पहिला नै घाइते भएकाले पनि खेल हार्न पुग्यौँ। सबैभन्दा ठूलो दुर्भाग्य अग्रता जोगाउन नसक्नु भयो।