धनकुटा नगरपालिका– २ स्थित भिरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भिरगाउँवासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन नगरपालिकाले स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउने गरी प्रसूति गराउन एक दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको हो । गाउँमै बर्थिङ सेन्टर सञ्चालन गरेसँगै भिरगाउँवासीलाई प्रसूति गराउन धनकुटा अस्पताल धाउनुपर्ने बाध्यता हटेको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४सै घन्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि भिरगाउँवासीलाई सहज भएको छ । स्वास्थ्य चौकीमा प्रसूति गराएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको बताइन् । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई गर्भवतीले बच्चा जन्माइसकेका छन् ।
स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई यातायात खर्चबापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहनस्वरूप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले बताए ।
योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पतालबाहेक दुईवटा बर्थिङ सेन्टर स्थापना भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिँदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।