सुदूरपश्चिम ११ सडन डेथमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा सुदूरपश्चिम–११ ले चर्च ब्वाइजलाई सडनडेथमा ७–६ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त २० मिनेटको समयमा पनि दुवै पक्षले गोल गर्न सकेनन् । गोलरहित भएको क्वार्टरफाइनलको खेल टाइब्रेकर र सडनडेथबाट भएको हो ।
टाइब्रेकरमा समेत सुदूरपश्चिम र चर्च ब्वाइजले ४–४ को बराबरी गोल गरेका थिए । त्यसपछि सडनडेथमा प्रतिस्पर्धाको छिनोफानो भयो । खेलमा चर्च ब्वाइज अभागी साबित भएको हो । सडनडेथमा चर्च ब्वाइजका खेलाडी सविन खड्काको प्रहार गोलपोस्टको नजिक हुँदै बाहिरिएको थियो । त्यसपछि सुदूरपश्चिम–११ का गगनदीप सिङले गोल गर्दै टोलीलाई जित दिलाए ।
प्रतिस्पर्धामा दुवै टोलीले गोल गर्न निकै कोसिस गरेका थिए । केही राम्रो अवसर सिर्जना भएको थियो । दुवै टोलीका डिफेन्डरले उत्कृष्ट प्रदर्शन गर्दा निर्धारित र थप भएको समयमा गोल निस्किएन । यसैबीच, मैदानमा खेलाडीबीचको तालमेल मिलेको थिएन ।
सुदूरपश्चिम–११ का गगनदीप सिङले म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ हात पारेका छन् । सुदूरपश्चिम–११ ले ३ फागुनमा हुने अन्तिम क्वार्टरफाइनल खेलका विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल आयोजक बागमती युवा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ ।
मंगलबारको तेस्रो क्वार्टरफाइनलमा संकटा क्लब काठमाडौंले नव जनजागृति युवा क्लब सिमराको सामना गर्ने आयोजकले जनाएको छ । ७ फागुनसम्म चल्ने प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।
निर्धारित समयमै नतिजा आउनुपर्ने थियो
सुरेश हमाल, प्रशिक्षक, सुदूरपश्चिम
खेलाडीहरूले राम्रो खेले । सडनडेथमा भए पनि नतिजा हाम्रो पक्षमा आयो । चर्च ब्वाइज ए डिभिजनको टिम हो । हामी मोफसलको, त्यसमा पनि केही खेलाडी गाउँमा आयोजना भएको प्रतियोगिता खेली आएका थिए । यस कारण मैदानमा तालमेल नमिलेको देखियो । बिस्तारै खेलमा सुधार हुँदै छ । चर्च ब्वाइजको खेलअनुसार नतिजा हामीले निर्धारित समयमै निकाल्नुपर्ने थियो । तर, सडनडेथबाट आउँदा खुसी लागेको छ । समग्रमा उनीहरूले जितका लागि धेरै मिहिनेत गरेका थिए । सोमबारको खेलमा चित्त बुझेको थिएन ।
खेलाडी घाइते थिए
दर्शनभक्त राई, प्रशिक्षक, चर्च ब्वाइज
राम्रा खेलाडी घाइते भएका कारण प्रदर्शन राम्रो भएन । जसका कारण हामीले हारको सामना गर्नुपर्यो । अनन्त तामाङजस्ता खेलाडी घाइते भएका कारण मैदानबाहिरै बस्नुपर्यो । यसले खेलमा असर गर्यो । अर्को पक्ष भनेको बाहिरका खेलाडी लिएर खेल्दा हाम्रो सेट मिलेन । खेलाडीबीच तालमेल नमिल्दा नतिजा नआउनु स्वाभाविक हो । तर पनि खेलाडीले जितका लागि अन्तिमसम्म प्रयास गरेका थिए ।