प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइरहेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको बताएका हुन् ।
‘माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनका शक्तिहरूसँग समाजवादी मोर्चा बनाएर जाने भन्ने सैद्धान्तिक सहमति बनेको छ । र, मलाई विश्वास छ, छिट्टै एउटा समाजवादी मोर्चा बन्नेछ । सो मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणको एउटा विकल्पको रूपमा आउने विश्वास मैले लिएको छु,’ उनले भने । प्रधानमन्त्रीले यो प्रक्रियामा पार्टीका नेता तथा कार्यकर्ता सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने पनि बताए । ‘एकातिर पार्टी एकताको प्रक्रिया र अर्कोतिर समाजवादी मोर्चाको प्रक्रिया अघि बढ्दै छ । यो सबै प्रक्रियाभित्रबाट नेपालमा अहिले जे अप्ठ्याराहरू छन्, तिनलाई सकारात्मक दिशा दिने र विकासको एउटा नयाँ प्रक्रिया अगाडि लैजान सकिन्छ,’ उनले भने ।
पार्टी पुनर्निर्माणमार्फत आन्दोलनलाई अगाडि बढाउँदै जनताको भावना र आवश्यकताअनुसार काम गर्ने जिम्मेवारी थपिएको प्रचण्डको भनाइ थियो । ‘हामीले फेरि एकपटक नयाँ संकल्पसहित अगाडि जानुछ । आन्दोलनलाई एकताबद्ध बनाउने प्रक्रिया सुरु भएको छ । सबैले आ–आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका पनि छन् । र, म आफैँले पनि धेरै समूहका नेतृत्वसँग लगातार छलफल गरेको छु । मलाई विश्वास छ, छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अगाडि आउनेछ,’ उनले भने ।
सुशासन र विकासका निम्ति समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले जनाए । सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा रहेको भन्दै प्रचण्डले देशलाई सामाजिक, आर्थिक रूपान्तरणमा अगाडि बढाउने संकल्प गरेको बताए । आफूलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको पनि उनले बताए । ‘तपाईंहरू सबैलाई थाहा छ– अर्थतन्त्रको स्थिति के छ ? राजनीतिको स्थिति के छ ? सरकारको नेतृत्व गर्ने अवसरलाई एउटा चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिल्कुल छुट छैन । सामाजिक न्यायको क्षेत्रमा, सुशासनको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नैपर्नेछ । त्यसरी मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने, ‘केही समयदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि विभिन्न कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका छन् । यस्तो वेलामा यो परिवर्तन ल्याउने आन्दोलन र त्यसको नेतृत्वले औचित्यसिद्ध गर्नका निम्ति दृढताको साथ अगाडि बढ्नुको कुनै विकल्प छैन ।’ प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई राष्ट्रकै सम्पत्ति भएको पनि बताए ।