पाथीभरा सडक : ठेक्का लागेको एक वर्षसम्म छैन प्रगति

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

वार्षिक लाखौँ तीर्थयात्री आवतजावत हुने ताप्लेजुङको पाथीभरा सडकको सुकेटारदेखि काफ्ले पाटीसम्मको कालोपत्रे गर्ने कामको ठेक्का लागेको एक वर्ष बितिसकेको छ । ठेक्का लागेको एक वर्षसम्म पनि कामको प्रगति आशाजनक छैन ।

दुई वर्ष ६ महिनामा सक्ने गरी काठमाडौंको कन्टेक प्रा.लि.ले कालोपत्रे गर्ने कामको ठेक्का लिएको थियो । कन्टेकसँग ०७८ पुस ११ गते सुकेटारदेखि काफ्ले पाटीसम्मको १० किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोडको ठेक्का खुलेकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको हो ।

०८१ सालको जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ४० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि आठ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर दक्षिण ओलाङचुङगाेला सडकका प्रमुख अमिन्द्र खड्काले बताए ।

सोही ठेकेदार कम्पनीले ठेक्का पारेको सुकेपोखरी–छातेढुंगा–ह्वाकु–चोकपुर–हाङपाङ–ढुंगेसाँघु सडकको निगुरादिन–हाङपाङ खण्डमा पनि काम शून्य छ । यहाँ पनि ०७८ पुस ११ गते नै कन्टेक प्रा.लि.सँग कालोपत्रे गर्न ठेका सम्झाैता भएको थियो । दुई लेनको बाटो कालोपत्रेका लागि ८० करोडको ठेक्का खुलेकोमा सो कम्पनीले ३६ करोड ६४ लाख ७१ हजारमा ठेक्का पारेको थियो । 

कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको सडक प्रमुख खड्काले बताए । अब ती दुईवटै सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उनको भनाइ छ ।

सुझावित समाचार