राजर्षि जनक कप : पहिलो क्वार्टरफाइनलमा साबिक विजेता पिप्ले र जावलाखेल भिड्दै

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

सातौँ राजर्षि जनक कपको पहिलो क्वार्टरफाइनल खेलमा साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल युथ क्लब काठमाडाैं भिड्ने भएका छन् । 

जावलाखेल युथ क्लबले प्रि–क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै पिप्लेसँगको भेट पक्का गरेको हो भने लगातार दुई सिजनको साबिक विजेतासमेत रहेको पिप्लेले एक खेल वाई पाएको हो । नकआउट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा विजयी टिमले अन्तिम चारको यात्रा तय गर्नेछ । पराजित टिम उपाधि होडबाट बाहिरिनेछ ।

दुवै टिम जसरी पनि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिसहित मैदानमा उत्रिँदै छन् । जावलाखेल खेल जित्दै उपाधि होडमा कायम रहन चाहन्छ भने यो सिजन पनि विजयी हुँदै रनिङ सिल्ड आफ्नो बनाउने दाउमा रहेको पिप्ले आजको नतिजा आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने पक्षमा छैन । 

बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा चलिरहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए । फागुन ७ गते फाइनन खेल हुने प्रतियोगिताको विजेताले नगद १० लाख, राजर्षि जनक कप र उपविजेताले नगद पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

सुझावित समाचार