त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई थाई एयरसँग १० लाख घुस मागेको आरोप लागेको छ । थाई एयरले पाइरहेको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरण सम्बन्धमा घुस बार्गेनिङ भएको अडियो नै सार्वजनिक भएको छ ।
घुससम्बन्धी अडियो प्राप्त भएपछि पर्यटनमन्त्री सुदन किराँतीले शुक्रबार ठाकुरलाई निलम्बन गरेका छन् । थप छानबिनका लागि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचारसमेत गरेको छ । घुसको उजुरी/आरोप परेपछि मन्त्रालयले आरोपितलाई निलम्बन गरिएको हो । यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन प्रक्रिया बढाएको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले यस विषयमा कानुनअनुसार छानबिन हुने जानकारी दिए । आरोपित ठाकुरले छानबिनका लागि तयार भएको प्रतिक्रिया दिएका छन् ।
घुस प्रकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’सँग सम्बन्धित विषय हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा दुई विमान कम्पनीले मात्र ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका छन् । त्यसमा थाई एयरलाइन्स र एयर इन्डिया छन् ।
बाँकीको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले नै गर्छ । ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका कम्पनीले आफ्ना जहाजको ग्राउन्ड ह्यान्डलिङसँग सम्बन्धित मर्मतसम्भार, सञ्चालनलगायत काम आफैँ गर्न पाउँछन् । जसअन्तर्गत थाई एयरले आफ्ना विमानका लागि यस्तो काम आफैँ गर्न पाउँछ । थाई स्माइल थाई एयरको भगिनी संस्था हो ।
‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधाका लागि कार्यालयबाट लाइसेन्स (अनुमतिपत्र) लिनुपर्छ अथवा वार्षिक रूपमा त्यसको नवीकरण गर्नुपर्छ । विमानस्थल कार्यालयका अनुसार थाई एयरले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरण गरेको छैन । यही नवीकरणका सम्बन्धमा अडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भएको अडियो संवाद करिब १०–१५ दिनअघिको भएको विमानस्थल प्रमुख ठाकुरले नै बताएका छन् । अडियो बिहीवार राति पर्यटन मन्त्री किराँतीलाई प्राप्त भएको मन्त्रालय स्रोत बताउँछ । यसलगत्तै बिहानै मन्त्रालयमा सचिवसहितको बैठक बसेर उनले ठाकुरलाई निलम्बन गरेर थप छानबिनका लागि अख्तियारलाई पत्राचार गर्ने निर्णय उनले गरे । यसै विषयमा थप अनुसन्धान गर्न अख्तियारलाई अनुरोध गरी पठाइएको जानकारी पनि मन्त्रालयले विज्ञप्तिमार्फत् नै दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरले भने आफूलाई फसाउने प्रपञ्च भएको र छानबिन ‘फेस’ गर्न तयार रहेको बताएका छन् । जहाजलाई आवश्यक पर्ने एमआरओ (मेन्टिनेन्स, रिपियर, अपरेसन) इन्जिनियरिङ सेवाका लागि थाई एयरको इन्जिनियरले भेटेको उनको भनाइ छ । थाई एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ सुविधा पाएको छ । यो नवीकरण गर्न र सेवालाई वैधानिक गर्न भनेको थिएँ । यसै सन्दर्भमा थाई एयरको इन्जिनियरले भेटेको उनले बताए ।