नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको १५ सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ग्रिडआबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरूको १५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको हो ।
उक्त आयोजनाहरूको विद्युत् ‘टेक अर पे’ सिद्धान्तका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । आयोजनाहरूको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमशः रु. ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुने बताइएको छ ।
प्राधिकरणको यही माघ १८ गतेसम्मको विवरणअनुसार एक सय ३६ आयोजनासँग तीन हजार एक सय ९२ मेगावाटको कनेक्सन सम्झौता गरिएको छ । कनेक्सन सम्झौता गरिएको मितिको रोलक्रमका आधारमा विद्युत् खरिद–बिक्री दरलगायतका सम्पूर्ण प्रावधान यथावत् रहने गरी आरओआर आयोजनाहरूसँग थप १५ सय मेगावाटको पिपिए हुनेछ ।
प्राधिकरणले हालसम्म ६ हजार तीन सय ६६ मेगावाटको पिपिए गरेको छ । त्यसमध्ये एक हजार पाँच सय ३१ मेगावाटका आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा छन् । प्राधिकरणका अनुसार तीन हजार दुई सय ८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् ।
स्वीकृत सीमाभन्दा बढी क्षमताका विभिन्न प्रारूपका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौताको प्रारूप तय गर्न प्राधिकरण सञ्चालक समितिले समित गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिमा कानुनका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरण योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य तथा विद्युत् व्यापार विभागका निर्देशक सदस्यसचिव रहेका छन् ।
समितिले पिपिएको प्रारूप, नदी तथा खोलाहरूमा उपलब्ध हुने पानीको बहावका आधारमा आयोजनाको डिजाइन क्राइटेरिया परिवर्तनलगायतका विषयको अध्ययन गरी प्रतिवेदन पेस गर्ने बताइएको छ । ग्रिड कनेक्सन सम्झौता भएका आयोजनासहित पिपिएका लागि ११ हजार मेगावाटका विभिन्न आयोजनाले दरखास्त दिएका प्राधिकरणले जनाएको छ ।