६ महिनामा चार सय ३५ उद्योग दर्ता

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

चालू आर्थिक वर्षको ६ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनामा चार सय ३५ उद्योग दर्ता भएका हुन् । सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् । 

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढेको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी, आव ०७७/७८ मा दुई हजार एक र ०७६/७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । उक्त कार्यालयले गत आवमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजीका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ । 

See More On

सुझावित समाचार