सरकारको ध्यान अर्थतन्त्र सुधारमा : उपाध्यक्ष श्रेष्ठ

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

 नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठसँग भेट गरी बधाई तथा शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगका समस्याबारे छलफल गरेको हो । 

अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदम चालिनुपर्ने बताए । क्षेत्रगत रूपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको उनको भनाइ थियो ।

यस्तै, विकास निर्माणका परियोजना समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै उनले ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताए । यसैगरी, विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत सञ्चालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडेलमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिनसमेत आग्रह गरे । 

परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेस गरेको छ । अर्थतन्त्रलाई पुनः गति दिन तरलता संकट तथा उच्च ब्याजदर, औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको बताए । आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गर्र्ने बताउँदै अर्थतन्त्रमा सुधार ल्याउन राजस्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिट्यान्स भिœयाउनुपर्ने आवश्यकता देखिएको औँल्याए । साथै, अर्थतन्त्र सुधारमा ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

सुझावित समाचार