नयाँ गठबन्धनसँगै रोकिएको वाम–समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री प्रचण्ड, नेपाल र यादव निरन्तर संवादमा
नयाँ गठबन्धनसँगै रोकिएको वाम–समाजवादी सहकार्यको प्रयास फेरि अघि बढेको छ । सहकार्य र राजनीतिक स्थिरताको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पुनः छलफल सुरु भएको छ । पार्टी एकता कि वाम–समाजवादी मोर्चा भन्ने विषयमा शीर्ष तीन नेताबीच मंगलबार साँझ दुई घन्टा छलफल भएको छ ।
गत निर्वाचनताका अगाडि बढेको समाजवादी केन्द्र निर्माणको प्रयास नयाँ गठबन्धन बनेसँगै रोकिएको थियो । ‘बीचमा हामी धेरै नजिक पुगेका थियौँ । नयाँ गठबन्धन बनेपछि ठोस रूपमा कुराकानी अगाडि बढ्न सकेको थिएन । सम्बन्ध सुधार र सहकार्यको विषयमा शीर्ष नेताहरूबीच छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो ।
सम्बन्ध सुधारको प्रयासस्वरूप भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले दाबी गरेको छ । ‘समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको हो । बीचमा रोकिएको संवादलाई अगाडि बढाऔँ भन्ने हो । अगाडि बढ्न कसरी सहजीकरण गर्ने भन्नेबारे कुराकानी भयो,’ स्रोतले भन्यो । जसपा अध्यक्ष उपेन्द्र यादवले सामान्य कुराकानी भएको बताए । ‘सामान्य हाई–हेल्लो भयो । खास त्यस्तो केही छैन,’ उनले भने । राजनीतिक दलहरूबीच सहकार्यबारे छलफल हुन स्वाभाविक भएको उनको भनाइ छ । नयाँ सत्तागठबन्धन बनेपछि प्रचण्ड, नेपाल र यादवबीचको यो दोस्रो भेटवार्ता हो ।
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि धेरै विषयमा समानता रहेको नेताहरूले दाबी गरेका छन् । एउटै कमिटीमा रहेर काम गरिसकेकाले केही प्राविधिकबाहेक अन्य विषयमा समस्या नहुने नेताहरू दाबी गर्छन् । तर, नेताहरूको व्यवस्थापनमा केही समस्या हुन सक्ने नेताहरू बताउँछन् । नाममा कम्युनिस्ट पार्टी राख्न जसपा तयार भइनसकेकाले ऊसँग भने तत्काल मोर्चाबन्दीको मात्रै सम्भावना छ ।
विचार मिल्नेसँग पार्टी एकता र तत्कालीन मुद्दा मिल्नेसँग मोर्चा निर्माणको प्रयास भइरहेको माओवादी महासचिव एवं कार्यदल सदस्य देव गुरुङले बताए । विचार मिल्नेहरू एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ छ । गुरुङका अनुसार एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा निर्माणबारे छलफल अघि बढेको छ । जसपाले कम्युनिस्ट पार्टी स्विकारी नसकेकाले एकताको सम्भावना कम रहेको उनले बताए ।
‘एकीकृत समाजवादीसँग एकताका लागि खासै समस्या छैन । एकीकृत समाजवादी तयार हुनेबित्तिकै एकता भइहाल्छ । विगतमा हामीले एउटै कमिटीमा काम गरेकै हौँ । अब पनि समस्या छैन,’ गुरुङले भने, ‘जसपाको हकमा उहाँहरूले कम्युनिस्ट नाम नमानेकाले मोर्चाबन्दी हुन सक्ने भयो । कम्युनिस्टप्रति सहानुभूति राख्नु र कम्युनिस्ट पार्टी नै बनाउनु फरक कुरा हो ।’
एकीकृत समाजवादीका महासचिव एवं कार्यदल संयोजक डा. बेदुराम भुसालले पनि माओवादीसँग एकता र जसपासँग मोर्चा निर्माणको सम्भावना औँल्याए । माओवादीसँग धेरै विषय मिल्ने भन्दै उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा धारणा एकीकृत गर्नुपर्ने बताए । उनले भने, ‘माओवादीसँग धेरै कुरा मिल्छ । अब कसरी जाने भन्ने विषयमा धारणा एकीकृत गर्नुपर्ने अवस्था छ । पहिला पनि हामी एक ठाउँमा भयौँ । नेकपाको एकतालाई अदालतले भंग गरिदियो । केपी ओलीहरू एमालेमा फर्किनुभयो, प्रचण्ड माओवादीमा फर्किनुभयो । हामी नेकपाको वेलाको विचारलाई समेटेर बस्यौँ । यसमा हाम्रो र उहाँहरूको बुझाइ फरक हुन सक्छ,’ उनले भने ।
नेकपाकै जगमा अगाडि बढ्न सकिने भुसालले बताए । पार्टीको नाम र चुनाव चिह्नको विषय पनि बाँकी रहेको उनको भनाइ छ । ‘कार्यदलस्तरीय छलफलमा हामी र माओवादीबीच धेरै भिन्नता छैन भन्ने थियो । नेकपाको विभाजनपछि छुट्टै बस्दा व्यवहार कस्ता रहे भन्नेमा छलफल गरौँ भन्ने थियो । नेतृत्व स्वरूपको विषयमा पनि छलफल गर्न बाँकी छ,’ उनले भने ।
उच्च स्रोतका अनुसार नेकपा समाजवादी नाम राखेर अघि बढ्न नेताहरू सहमत भएका छन् । जसपाले कम्युनिस्ट नाम नस्विकारेकाले तत्काल एकता सम्भव नभएको माओवादी र एकीकृत समाजवादीका नेताहरू बताउँछन् । यद्यपि, जसपाको झुकाव कम्युनिस्टप्रति नै रहेको बुझाइ उनीहरूको छ । ‘जसपासँग तत्काल एकता हुने अवस्था छैन । कम्युनिस्ट पार्टी नभए हुने भन्ने उहाँको कुरा छ । हामी कम्युनिस्ट पार्टी छाडेर जान सक्दैनौँ । जसपासँग नाममै छलफल गर्नुपर्ने अवस्था छ,’ भुसालले भने ।
एकताका लागि तीनवटै पार्टीले बनाए कार्यदल
तीनवटै दलले कार्यदल बनाएका छन् । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा, एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकता कार्यदल बनाएका छन् । कार्यदलस्तरमा पटक–पटक छलफल भइसकेको छ । माओवादीको पार्टी एकता कार्यदलले गत स्थायी समिति बैठकमा एकीकृत समाजवादीसँग शीर्ष तहमा बसेर केही विषय मिलाउन बाँकी रहेको प्रतिवेदन पेस गरेको थियो । नेसपासँग भने मूलभूत रूपमा विषय टुंगिएको वार्ता टोलीको निष्कर्ष थियो । पूर्वमाओवादीलाई एकत्रित गर्ने र वाम–समाजवादी शक्ति निर्माण गर्ने माओवादीको रणनीति छ ।
गत शनिबार र आइतबार बसेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकले वाम एकता र मोर्चाका लागि पहल गर्ने प्रस्ताव पारित गरेको छ । समाजवाद निर्माण गर्न बलियो कम्युनिस्ट शक्तिको आवश्यकता रहेको एकीकृत समाजवादीले औँल्याएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिस्ट शक्ति निर्माण हुन सक्दैन ।’ तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दामा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्न सकिने पनि एकीकृत समाजवादीले स्पष्ट पारेको छ ।
फागुनभित्रै माओवादी–नेसपा एकता
माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच फागुनभित्रै एकता गर्ने तयारी छ । ‘यही फागुनभित्रै एकता गर्ने तयारी छ । केही प्राविधिक विषय मात्रै मिलाउन बाँकी छ । सुरुमा माओवादी र नेसपाबीच एकता हुन्छ,’ नेसपा सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक गंगा श्रेष्ठले भने । माओवादी महासचिव एवं कार्यदल सदस्य देव गुरुङले पनि नेसपासँग छिट्टै एकता हुने बताए । नेसपाले गत निर्वाचनमा माओवादीकै चिह्न प्रयोग गरेको थियो । नेसपासँगै माओवादी पृष्ठभूमिका दलहरूसँग पनि एकता र सहकार्यको विषयमा छलफल चलिरहेको गुरुङले जानकारी दिए ।
विप्लव पनि एकताको पक्षमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकताको पक्षमा उभिएको छ । केन्द्रीय कमिटी बैठकबाटै विप्लवले एकता र मोर्चाबन्दीको निर्णय गराएका हुन् । ‘क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्नेछ,’ निर्णयमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीहरूसँगको बहस, सहकार्यलाई व्यवस्थित गर्दै जाने नीति पनि नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।’
बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा विप्लवले विचार मिल्ने पार्टीहरूसँग एकता र सहकार्य गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको बताए । ‘विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता र मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । वैज्ञानिक समाजवाद र रूपान्तरणकारी राजनीतिकको विषयमा खुला ढंगले छलफल गर्न चाहेको विप्लवको भनाइ छ । वैज्ञानिक समाजवादबाट मात्रै निराशावादी गोलचक्करबाट मुक्ति मिल्ने उनले दाबी गरे ।