गगनको दाबी- राष्ट्रपति निर्वाचनमा एमालेलाई हराएरै छाड्छौँ

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण
गगनको दाबी- राष्ट्रपति निर्वाचनमा एमालेलाई हराएरै छाड्छौँ

फाइल तस्बिर

कांग्रेस महामन्त्री गगन थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। 

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउन आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिरसमेत गरे। 

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढने बताए। 

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरू पक्षको बनाउन सबै प्रयास गर्ने बताए। 

‘राष्ट्रपतिमाआँखा लाउलास् भन्नुहुन्छ साथीहरू । ठीकै हो । त्यो पनि कुरा । तर, नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरमा हामीले कस्तो बनाएका छौँ ? मन लाग्दाखेरि हामीले संविधानलाई मिच्न पाउने। अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनिदिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बिस्तारै दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतलनिवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतलनिवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा कांग्रेसले लुकाउने कुरा छ र ? हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । र, हराएरै छाड्छौँ।  कोसिस गर्छौँ । लाग्छौँ–लाग्छौँ । यो स्वाभाविक हो नि । अस्वाभाविक हो र?’

विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ थियो।

सुझावित समाचार