सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने भएका छन् । प्रदेश सभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए। प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।
सत्तागठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने–नदिनेबारे हालसम्म टुंगो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । विनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । एमालेका युवा नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
प्रदेश सभामा सत्तापक्षीय नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन् ।