आयातमा उपभोग्य वस्तुको वर्चस्व बढ्यो

मूल्य अभिवृद्धि र स्थिर पुँजी निर्माणमा खपत हुने वस्तुको आयात घट्यो

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

सरकारले आयातमा कडाइ गरेर अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम भएको तथ्य चर्चामा आइरहँदा यसबीच भएको आयात अर्थतन्त्रका लागि फलदायी नभएको देखिएको छ । राष्ट्र बैंकको पुससम्मको तथ्यांकले वस्तु आयातमा पुँजी निर्माण र मूल्य अभिवृद्धि हुने वस्तुको हिस्सा खुम्चिँदै गइरहेको तथ्यांकले पुष्टि गरेको हो ।

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको प्रथम ६ महिनामा कुल आयातमा स्थिर पुँजी निर्माणको हिस्सा ८.८ प्रतिशत छ । जबकि गत आर्थिक वर्षमा यो हिस्सा १०.९ प्रतिशत थियो । तथ्यांकअनुसार आयातमा संकुचन आउँदा मध्यवर्ती उपभोग्य वस्तु, पुँजी निर्माणका लागि उपयोगी वस्तु र अन्तिम उपभोग्य वस्तुको आयात घटेको छ । यद्यपि, कुल आयातमा पुँजीगत प्रवृत्तिका वस्तु आयात भने खुम्चिँदै गएको हो । 

केन्द्रीय बैंकका अनुसार पुससम्ममा स्थिर पुँजी निर्माणजन्य वस्तुको आयात ६९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, मध्यवर्ती उपभोग्य वस्तुको आयात चार खर्ब २१ अर्ब र अन्तिम उपभोग्य वस्तुको आयात तीन खर्ब एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको प्रथम ६ महिनाको तुलनामा स्थिर पुँजी निर्माणजन्य वस्तुको आयात सबैभन्दा बढी घटेको देखिन्छ । यो ३६.३ प्रतिशतले घटेको हो । त्यस्तै, मध्यवर्ती उपभोग्य वस्तुको आयात २१.४ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको आयात १४.८ प्रतिशतले घटेको छ । 

अन्तिम उपभोग्य वस्तुमा अत्यधिक आयात हुनेमा विद्युत् र पेट्रोलियम पदार्थ छन् । अन्तिम उपभोग हुने कुल वस्तुमा यसको हिस्सा ४९ प्रतिशत छ । त्यसपछि कृषिउपज, वनजन्य, पेयपदार्थ र सुर्तीजन्य पदार्थको आयात बढी छ । यसको हिस्सा १८ प्रतिशत छ । बाँकी आयात हुने वस्तुमा औषधिजन्य उत्पादन, यातायातका उपकरण, लत्ताकपडा, गरगहना र निर्माण सामग्री तथा घरायसी सामग्रीले बराबरीमा हिस्सेदारी गरेका छन् । 

पुँजीगत प्रकृतिका वस्तु आयातमा निर्माण सामग्री, काठ, धातु, विद्युतीय उपकरण र फर्निचर शीर्षकका वस्तुको हिस्सा बढी छ । कुल आयातमा यसको हिस्सा २२ प्रतिशत छ । यद्यपि, गत आर्थिक वर्षको तुलनामा यो २३.४ प्रतिशतले घटेको छ । पुससम्ममा यो आयात १५ अर्ब पाँच करोड रुपैयाँ मात्रै छ । 

गत आर्थिक वर्षको ६ महिनामा यस्तो आयात १९ अर्ब ६६ करोड रुपैयाँ थियो । सूचना प्रविधि तथा वित्तीय सेवासम्बन्धी यस्ता वस्तुको आयातको हिस्सा १८ प्रतिशत छ । यस्तो किसिमको आयातमा औषधिजन्य वस्तु उत्पादनका लागि आवश्यक वस्तुको हिस्सा १५ प्रतिशत छ । कृषि उत्पादनका लागि आवश्यक यस्ता वस्तुको आयात ३० प्रतिशतले घटेको छ । ६ महिनामा यस्ता वस्तु ६ अर्ब ५७ करोड रुपैयाँबराबर आयात भएको छ ।  

सुझावित समाचार