विदेशी मुद्राको सञ्चिति १८ महिनायताकै बढी

नौ महिनाभन्दा बढीको आयात धान्ने अवस्थामा पुग्यो विदेशी मुद्राको भण्डारण

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

सरकारले आयातमा कडाइ सुरु गरेयता विदेशी मुद्राको ढुकुटी बढ्न थालेको छ । वैशाखदेखि पुस मसान्तसम्म आयातमा गरिएको कडाइ तथा राष्ट्र बैंकले कर्जा विस्तारमा कस्ने नीति लिएपछि त्यसको प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको हो ।

राष्ट्र बैंकबाट सोमबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले गत पुस मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड (१० अर्ब ३० करोड अमेरिकी डलर) पुगेको देखाएको छ । यो झन्डै १८ महिनायताकै बढी हो । अहिलेको सञ्चितिले नौ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसअघि ०७७ साउनमा लकडाउनका कारण आर्थिक क्रियाकलाप संकुचित भएपछि विदेशी मुद्रा सञ्चिति १५ महिना १८ दिनको आयात धान्न पुग्ने गरी बढेको थियो । त्यसअगाडि भूकम्प गएको वर्ष आयात खुम्चिने र रेमिट्यान्स तथा विदेशी सहायता बढ्दा यस्तो अवस्था सिर्जना भएको थियो ।

राष्ट्र बैंकले सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी मुद्राको जगेडा गर्ने नीतिलाई कायम राख्दै आएको छ । सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएकाले नेपालले सुविधाजनकस्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यता छ । चार वर्षअघि यस्तो लक्ष्य आठ महिना कायम राखिएको थियो । 

अन्तर्राष्ट्रिय मुद्राकोषले निर्यातमुखी अर्थव्यवस्था भएका मुलुकका लागि तीन महिना र आयातमुखी अर्थव्यवस्था भएका मुलुकका लागि ६ महिनाको पर्याप्तता सुविधाजनक मानेको छ । नेपालमा लामो समय विदेशी मुद्राको भण्डारण घट्दै जाँदा आयात भुक्तानी क्षमतामा ह्रास आएको थियो । गत वैशाखमा मुलुकको विदेशी मुद्रा सञ्चिति घटेर हालसम्मकै न्यून ६ महिना १७ दिनको मात्रै आयात धान्न पुग्ने अवस्थामा पुगेको थियो । ६ महिनाभन्दा कम पुग्ने त्रास बढेपछि सरकारले १० प्रकारका विलासिताका वस्तु आयातमा कडाइ गरेको थियो । त्यसबाहेक विभिन्न वस्तु आयातमा शतप्रतिशतसम्म अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको थियो । 

राष्ट्र बैंकले कर्जा विस्तारमा अंकुश लगाएपछि त्यसको असर बजारमा पर्दै गएको छ । कर्जाको ब्याजदर वृद्धिका कारण बजारमा माग संकुचित भइरहेको छ । यसले आन्तरिक बजारलाई मात्र नभई आयातमा समेत लगाम लगाएकाले सञ्चितिमा क्रमशः सुधार देखिन्छ । यद्यपि, विगतमा सामान्य अवस्थामा पनि नेपालको विदेशी मुद्रा सञ्चिति पर्याप्तता १० महिनाभन्दा कम नभएकाले हालको अवस्थालाई उत्साहजनक नै मान्न नसकिने राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । उनले यो अवस्थालाई सुविधाजनक भने मानेका छन् । उनले भने, ‘यसअघि ६ महिना हाराहारी पुगेर खस्किसकेकाले अहिले नौ महिनाको अवस्थालाई सहज मान्नुपरेको हो । तर, हाम्रोमा औसत अवस्थामा पनि सञ्चिति १० महिनाभन्दा तल पुग्दैन ।’

 अनौपचारिक अर्थतन्त्रको मलजल
६ महिनामा वस्तु आयात २०.७ प्रतिशतले घटेको छ । जब कि, गत आर्थिक वर्षको पहिलो ६ महिनामा ५१.१ प्रतिशतले आयात बढेको थियो । तर, चालू वर्षको ६ महिनामा आयातसँगै निर्यातसमेत ३२ प्रतिशतले खस्किएको छ । आयातसँगै निर्यातसमेत खुम्चिनुले देशको वैदेशिक व्यापार सन्तुलनमा नरहेको बुझ्न सकिन्छ । अनौपचारिक माध्यमबाट वैदेशिक व्यापार भइरहेको आशंका क्षेत्रीको छ । उनले भने, ‘नेपालको सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा एक सय भारुबराबर एक सय ५२ नेपाली रुपैयाँ (नेरु)सम्ममा पनि पाइरहेको सूचना प्राप्त भएको छ ।’ औपचारिक च्यानलमा भारतसँग नेपालको स्थिर विनिमय प्रणाली छ । 

आयातमा गरिएको कडाइले अनौपचारिक अर्थतन्त्रलाई प्रशय दिँदा नेपालमा भारतीय मुद्राको अवमूल्यन भइरहेको उनले बताए । आयात प्रतिबन्धले विदेशी मुद्रा बाहिरिनबाट रोकेर स्वाभाविक प्रभाव पुगेको भए पनि यसले सञ्चिति बढाउन अप्रत्यक्ष भूमिका खेलेको पूर्वगभर्नर क्षेत्रीले बताए । 

सुनलगायतका विभिन्न वस्तु तस्करी भएर नेपाल आउने र भारततर्फ जाने भएकाले भारु सस्तो भएको हुन सक्ने उनको आशंका छ । त्यस्तै, भारतसँग अधिक व्यापार रहेको नेपालसँगको व्यापारघाटासमेत घट्दै गइरहेकाले अहिले नेपालमा भारुको माग कम हुँदै गएको अनुमान लगाउन सकिन्छ । 

औपचारिक माध्यमबाट नेपाल प्रवेश गर्नुपर्ने रेमिट्यान्स हुन्डीमार्फत भारत हुँदै आइरहेको आशंकासमेत गरिएको छ । यद्यपि, राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको देखाएको छ । यसबीच रेमिट्यान्स आप्रवाह पाँच खर्ब ८५ अर्ब रुपैयाँ (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो । 

त्यस्तै, वाणिज्य बैंकहरूले बचतमा भारतको तुलनामा उच्चतम ब्याजदर दिएपछि भारतीय नागरिकले नेपालमा रहेका आफन्तमार्फत बैंक खाता खोलेर बचत बढाएको हुन सक्ने आधार पनि औँल्याइएको छ । गत आर्थिक वर्षको अन्तिम महिनाको तुलनामा अमेरिकी डलर दुई रुपैयाँ ३२ पैसाले महँगिएको छ । जसको लाभसमेत विदेशी मुद्रा सञ्चितिमा परेको छ । 

 बाह्य क्षेत्रमा सुधार
देशको अर्थतन्त्रको स्वास्थ्य अवस्था मापन गर्ने प्रमुख औजारका रूपमा मानिने शोधनान्तर स्थिति गत असोजयता बचतमा छ । देशमा भित्रिने र बाहिरिने कारोबारको अन्तर नै शोधनान्तर स्थिति वा भुक्तानी सन्तुलन हो । आयातमा गरिएको कडाइले भुक्तानी सन्तुलन चार महिनायता नाफामा गएको र यो बढ्ने क्रममा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 
विदेशी मुद्राका स्रोतहरू रेमिट्यान्समा वृद्धि र आयातमा आइरहेको गिरावटले शोधनान्तर स्थिति बचत हुँदै गइरहेको हो । त्यस्तै, चालू खातामा पनि क्रमिक सुधार आउँदै गइरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा तीन खर्ब ५२ अर्ब रुपैयाँ घाटामा रहेको चालू खाता अहिले घटेर २९ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ । 

शोधनान्तर स्थिति बचतमा जाने र विदेशी विनिमय सञ्चितिमा देखिएको सुधारले आर्थिक स्थायित्वका लागि मौद्रिक व्यवस्थापन गर्न सहज स्थिति बनेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । यद्यपि, समग्र आर्थिक व्यवस्थापनका हिसाबले भने अहिले स्थिति चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

 उपभोग घट्दा महँगी नियन्त्रणमा
आयातमा कडाइ र कर्जा विस्तारलाई निरुत्साहित पारिएकाले उपभोग घट्दा यसले महँगीलाई समेत नियन्त्रणमा राखेको छ । भदौमा ८.६४ प्रतिशतसम्म पुगेको मुद्रास्फीति पुससम्म आइपुग्दा ७.२६ प्रतिशत कायम भएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । यद्यपि, विदेशी मुद्रा भित्रिने क्रम बढ्दै जाँदा यसले बजारमा मुद्रा प्रवाह बढ्ने भएकाले महँगी पनि बढ्ने अनुमान पूर्वगभर्नर क्षेत्रीको छ ।

 अनौपचारिक अर्थतन्त्रले प्रश्रय पायो
दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

मुलुकमा रेमिट्यान्स सोझै प्रवेश नगरी भारत हुँदै आयो कि भन्ने आशंका छ । अहिले सीमा क्षेत्रमा भारतीय मुद्रा फालाफाल छ । सय भारतीय रुपैयाँको एक सय ५२ रुपैयाँ नेपालीमै पाउन थालेको समाचार आइरहेका छन् । जब कि, भारतसँग हाम्रो स्थिर विनिमय दर प्रणाली छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालमा सोझै आउन सक्ने विदेशी मुद्राहरू भारतीय बजारमा पुगेर भित्रिएका हुन सक्छन् । त्यस्तै, विदेशी नागरिकले तस्करी गरेर सुन ल्याउने गरेको पछिल्ला गतिविधिहरूले पनि देखाउन थालेका छन् । यसरी तस्करी भएर आउने सुन जाने त भारततिरै हो । त्यसैले पनि विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ ।

 मौद्रिक व्यवस्थापन गर्न सहज बन्यो
गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति बचतमा जाने र विदेशी विनिमय सञ्चितिमा देखिएको सुधारले आर्थिक स्थायित्वका लागि मौद्रिक व्यवस्थापन गर्न सहज स्थिति बनेको छ । यद्यपि, समग्र आर्थिक व्यवस्थापनका हिसाबले भने अहिले स्थिति चुनौतीपूर्ण रहेको छ । अहिले हामीलाई मौद्रिक व्यवस्थापन गर्न सहज हुने स्थिति छ । समग्र आर्थिक व्यवस्थापनमा भने सोच्नुपर्ने अवस्था छ । बाह्य क्षेत्रलाई दिगो रूपमा सन्तुलनमा राख्न आन्तरिक उत्पादनमा वृद्धि गरेर यसलाई दिगो बनाउनुपर्ने हुन्छ ।

सुझावित समाचार