नाफारहित दूरसञ्चार सेवा उपलब्ध गराउन सञ्चारमन्त्रीको जोड

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

सर्वसाधारणलाई नाफारहित दूरसञ्चार सेवा प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जोड दिएकी छिन् । आइतबार नेपाल टेलिकमको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवाको पहुँच बढाउने सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताएकी हुन् ।

त्यस्तै, सञ्चार सचिव एवं नेपाल टेलिकमका अध्यक्ष वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टि नै कम्पनीको सफलता रहेको भन्दै ग्राहकले कुनै गुनासो गरेमा तुरुन्तै समाधान गर्नुपर्ने बताए । उनले भने, ‘हामी प्रविधिको युगमा छौँ । तर, कुनै ग्राहकले गुनासो गरेमा त्यसको समाधान गर्न दुई दिन लाग्छ ।’ यस्तो खालको कमजोर सेवाले बजारमा कम्पनीको प्रतिस्पर्धा गर्ने क्षमता घट्ने उनले बताए । 

 दुई करोड १३ लाख ग्राहक
नेपाल टेलिकमको ग्राहक संख्या दुई करोड १३ लाख नाघिसकेको छ । हाल मुलुकको ७५ प्रतिशत जनसंख्याले नेपाल टेलिकमको कुनै न कुनै सेवा प्रयोग गरिरहेको कम्पनीको भनाइ छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता एक करोड १५ लाखभन्दा बढी रहेका छन् । 

कम्पनीको भ्वाइस सेवा ग्राहक दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेका छन् । सोमध्ये जिएसएस मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजारभन्दा बढी र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी रहेका छन् । त्यसैगरी, एफटिटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिटिएच डेटा सेवाका ग्राहक दुई लाख ११ हजार रहेका छन् । 

इन्टरनेट डेटा सेवा प्रयोगकर्ता कुल दुई करोड ६ लाख १८ हजार ६ सयभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डेटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार, एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिटिएच डेटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार रहेका छन् । 

कम्पनीले गत आवमा कुल ४४ अर्ब ३७ करोड आम्दानी गरेकोमा खुद मुनाफा आठ अर्ब ४७ करोड रहेको छ । चालू आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ८० करोड आम्दानी गरेको छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिकम सेवा उपलब्ध हुने एफटिटिएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको छ । यसअघि नै मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा बाँकी अन्य स्थानहरूमा पुर्याउने योजना पनि अगाडि बढाइएको कम्पनीले जनाएको छ । 

त्यस्तै, मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश नम्बर १, बागमती प्रदेश, जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ । यो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किलोमिटर फाइबर बिछ्याएर कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।

एनटिसीको एनिभर्सरी अफर 
टेलिकमले १९औँ वार्षिकोत्सवको अवसरमा एनटिसी एनिभर्सरी अफर उपलब्ध गराएको छ । यसअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा र ४९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस डेटा र अननेट एक सय मिनेट कल सुविधा उपलब्ध गराइएको छ ।

साथै, दुई सयदेखि चार सय ९९ को रिचार्ज गर्दा दुई जिबी बोनस डेटा, दैनिक एक जिबी प्रयोग गर्न सकिने तथा पाँच सय वा सोभन्दा माथिको रिचार्जमा दैनिक दुई जिबीका दरले चार दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराएको छ । यसैगरी, नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबिपिएस डेटा, एक लाइन टेलिफोन र एउटा एनटिभीसहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा माघ २२ देखि फागुन २९ गतेसम्मका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

सुझावित समाचार