भीम रावल भन्छन्– नागरिकता स्वच्छ बनाउन गृह दिलाउने महाअभियान चलाइयो

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

सत्तारुढ नेकपा (एमाले)का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएको भन्दै आपत्ति जनाए । वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री र निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगनाहरूको योगदानको अवमूल्यन गरेको रावलको ठहर छ ।

‘आज मन्त्रीहरू हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको एकदम महँगो निजी स्कुल छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’ उनले प्रश्न गरे ।

नेता रावलले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे ।

सुझावित समाचार