यूएइ (युनाइटेड अरब इमिरेट्स)मा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली बिजनेस काउन्सिल दुबइले ‘नेटवर्किङ डिनर’ आयोजना गरेको छ ।
बिहीबार दुबइको बिजनेस वेस्थित आइरिस बेमा सम्पन्न कार्यक्रममा यूएईमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीसहित भारत, श्रीलंका, बंगलादेश र फिलिपिन्सका बिजनेस काउन्सिलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालका लागि यूएईका पूर्वराजदूत साइद हम्दान अल नक्बीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नक्बीले आफ्नो ६ वर्षको कार्यकालको नेपाल बसाइ अत्यन्तै अविस्मरणीय रहेको भन्दै नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको बताए ।
नेपाली बिजनेस काउन्सिलका अध्यक्ष असिफ अली सिद्दिकीले एक आपसमा चिनजान र पारस्परिक सहयोगको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष सिद्दिकीले यूएईमा रहेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता र अन्य देशका व्यवसायीबीच अनुभवको आदान–प्रदान र सहकार्य गर्ने अवसर प्राप्त हुने भएकोले कार्यक्रम उपलब्धीमूलक रहेको बताए ।
कार्यक्रममा विभिन्न देशका बिजनेस काउन्सिललाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली समाज यूएई र नेपाल पत्रकार महासंघ यूएई शाखालाई सामाजिक कार्यमा पुर्याएको योगदानको लागि सम्मान गरिएको थियो ।

