सर्वाेच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषीको विरोध

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

एक मुद्दाको फैसलामा भारतको सर्वाेच्च अदालतले नेपाली मूलका सिक्किमेलीलाई ‘विदेशी मूलका मानिस’ उल्लेख गरेको विषयलाई लिएर भारतको उत्तरपूर्वी राज्य सिक्किम र दार्जिलिङसमेतमा शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेको छ । 

एसोसियसन अफ वल्र्ड सेट्लर्स अफ सिक्किम (एओएसएस)ले सन् २०१३ मा चढाएको याचिकामा सर्वाेच्च अदालतले आफ्नो फैसलाको ठहर खण्डमा सिक्किमेली नेपालीलाई जनाउन ‘विदेशी’ र ‘आप्रवासी’जस्ता शब्दहरू प्रयोग गरेपछि सिक्किमेलीले अपमान भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । एओएसएसले आपसत्तिजनक शब्दहरू हटाउन सम्मानित अदालतसमक्ष समावेदन गर्ने जनाएको छ । प्रदर्शनकारीहरूले अपमानजनक शब्दहरूलाई सुधार्नेतर्फ पहलकदमी लिन राज्य सरकारलाई सात दिनको समयसीमा दिएका छन् । 

सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकोव खालिङ, जेएसीका महासचिव केशव सापकोटा, हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भुटिया, सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईलगायतले सर्वाेच्च अदालतले प्रयोग गरेका शब्दप्रति खेद जनाएका छन् । ‘सर्वाेच्चको फैसलामा उल्लेख भएका अपमानजनक शब्दहरू हटाउन याचिका पेस गर्नुअघि नै यो विषयमा राज्यसभाबाट विशेष प्रस्ताव पास गर्न हामीले राज्य सरकारलाई सात दिनको समय दिएका छाैँ । एओएसएसलाई पनि आपत्तिजनक शब्दहरू हटाई माग्न सर्वाेच्चमा याचिक पेस गर्न यति नै समय दिएका छौँ,’ सापकोटाले भने । 

गत आइतबार जारी प्रेस विज्ञप्तिमा एओएसएसले सन् २०१३ मा चढाएको याचिकाको फैसलामा उल्लेख केही अपमानजनक शब्द हटाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गरेको थियो । उसले यो विषयमा भारतका शीर्ष कानुनविद्हरूसँग परामर्श गरिरहेको पनि जनाएको छ । आफूले सन् २०१३ मा सर्वाेच्चमा चढाएको मूल याचिकामा पनि सिक्किमेली नेपालीलाई जनाउन प्रयोग भएका केही शब्दमा विरोध भएपछि तत्कालै संशोधन याचिका पेस गरेर हटाएकोसमेत एओएसएसले जनाएको छ । ‘यो १० वर्षको अवधिमा धेरैपटक बहस भए । कुनै समुदाय विशेषलाई विदेशीको लेबल नलागोस् र उनीहरूको भावनामा चोट नपुगोस् भनेर हामीले नेपालीलाई जनाउने शब्दहरू प्रयोग गर्दा विशेष होसियारीसहित प्रयोग गरेका थियौँ,’ एओएसएसले भनेको छ । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले यो विषयमा सरकारले सर्वाेच्च अदालतसमक्ष अर्जी पेस गर्ने र संघीय कानुन तथा न्यायमन्त्री किरन रिजिजुसमक्ष पनि यो विषय पुर्याइसकेको बताएका छन् । ‘अपमानजनक शब्दहरू हटाउन हाम्रो तर्फबाट कदम चालिसकेका छौँ । हामी सर्वाेच्च अदालतसमक्ष पनि याचिका दायर गर्दै छाैँ,’ एओएसएसका महासचिव अमर अग्रवालले भने । यही विषयलाई लिएर जेएसीले सिक्किमका अतिरिक्त महान्यायाधिवक्ता सुदेश जोशीलाई बर्खास्त गर्न माग गरेको थियो । जोशीले बिहीबार राजीनामा दिएका छन् । 

के थियो निवेदनको विषय ? 
सन् १९७५ को २६ अप्रिलमा भारतमा गाभिनुअघि सिक्किममा बसोवास गरिरहेका व्यक्ति तथा परिवारलाई आयकरमा मुक्ति दिन माग राखी एओएसएसले अदालतसमक्ष निवेदन पेस गरेको थियो । भारतको सर्वाेच्च अदालतले जनवरी १३ मा यही याचिकामा फैसला दिएको हो । फैसला निवेदकको पक्षमै आएको छ । 

सन् २००८, १ अप्रिलदेखि सिक्किममा लागू भएको इन्डियन इन्कम ट्याक्स एक्ट १९६१ ले दफा १० को उपदफा २६ बमोजिम सिक्किमको बहुसंख्यक जनसंख्यालाई आयकरबाट मुक्ति प्रदान गर्छ । ऐनले सिक्किम शब्दलाई पनि परिभाषित गरेको थियो । तर, पहिलेदेखि नै सिक्किममा बसोवास गरिरहेका भारतीय मूलका सिक्किमेलीलाई ऐनको परिभाषाले समेटेको थिएन । उनीहरू आयकर छुटमा समावेश भएनन् । 

यही विषयलाई लिएर गाभिनुअघिका सबै सिक्किमवासीलाई आयकरमा मुक्ति दिनुपर्ने भन्दै एओएसएसले अदालतमा याचिका दायर गरेको थियो । सबै सिक्किमेलीलाई समेट्ने गरी निवेदकको पक्षमा आएको यो फैसलाको व्यापक स्वागत भएको छ । तर, सिक्किमेली नेपालीलाई अदालतले विदेशी मूलका मानिस उल्लेख गर्दा उनीहरूले अपमान महसुस गरेका छन् र विरोध प्रदर्शनमा उत्रिएका छन् । 

सोमबारदेखि सिक्किमका सबैजसो राजनीतिक दल र थुप्रै संगठनहरू विरोध प्रदर्शनमा छन् । केही दिनपहिले गठन भएको जेएसीले मंगलबार हिमाली राज्य सिक्किमका छवटै जिल्लामा विरोधसभाहरू आयोजना गरेको थियो । सिक्किमको सन् १८९१ को जनगणनाअनुसार त्यस बखत सिक्किमको जनसंख्या ३० हजार चार सय ५८ थियो, जसमा भोटिया तथा लेप्चा १० हजार छसय ५६ र नेपाली १९ हजार आठ सय दुई थिए । सिक्किममा भोटिया, लेप्चा र नेपाली तीन मुख्य समुदाय छन् । अहिलेसम्मका ६ मुख्यमन्त्रीमा पनि पाँच नेपाली नै रहेका छन् । बहुमत जनसंख्या पनि नेपाली मूलकै छ ।
 

सुझावित समाचार