तेस्रो मुलुकका नागरिक प्रयोग गरी नेपालमा सुन तस्करी

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

डेढ महिनाभित्रै दुईजना पक्राउ, अर्धठोस अवस्थाको २८ केसी सुन बरामद 

मध्यपूर्व एसियाली मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्न तेस्रो देशका नागरिकलाई भरिया बनाएको पाइएको छ । तस्करीमा भरियाका रूपमा प्रयोग भएका क्यानेडियन नागरिक मोहम्मद कमाल मोहोयुव नौ केजी एक सय ३५ ग्राम सुनसहित बुधबार बेलुका त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि यस्तो खुलेको हो । 

दुबईबाट आएका मोहोयुवलाई अवैध सुनसहित पक्राउ गरेको प्रमुख भन्सार अधिकृत अरुण पोखरेलले बताए । पोखरेलका अनुसार मोहोयुवले कम्मरमा बाँधेको पेटीभित्र अर्धठोस बनाएर सुन लुकाएका थिए । भन्सार जाँचका सुन पत्ता लागेको हो । 

यसअघि ८ पुसमा पनि विमानस्थलमा भन्सार जाँचका क्रममा सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्दिन १९ केजी सुनसहित पक्राउ परेका थिए । केमिकल प्रयोग गरी सुनलाई अर्धठोस बनाई उनले पनि कम्मरमा बाँधेर तस्करी गर्न खोजेका थिए । दुबईमै बस्ने एक सुडानी व्यक्तिले तीन लाख सुडानी पाउन्ड (करिब ७० हजार नेपाली रुपैयाँ) दिएर सो सामान ओसार्न लगाएको उनले बताएका थिए ।

सो घटनाको पनि भन्सारले अनुसन्धान गरिरहेको जनाएको छ । सो सुन लिन गएका अर्का सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले सो सुन भारत लैजाने जिम्मा पाएका थिए । प्रहरीका अनुसार उनले पहिला पनि तस्करीको सुन भारत लगिसकेका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थुनामा राखी उनीमाथि अनुसन्धान गरिरहेको छ । ‘दुबईबाट यसरी आउने सुन उनले झापा र मोरङका नाका हुँदै भारत लैजाने गरेको देखियो,’ सिआइबीका एक अधिकारीले भने । उनी दोस्रोपटक नेपाल आएका हुन् । पहिलोपटक ३ नोभेम्बरमा आएर ६ नोभेम्बरमा फर्किएका थिए ।

पछिल्लोपटक भने उनी २१ नोभेम्बरदेखि नेपालमै थिए । नेपालमा बसेर दुबईबाट आउने सुन भारत पठाउने उनको जिम्मेवारी थियो । उनकै माध्यमबाट सुन तस्करीमा संलग्न केही भारतीय नागरिकबारे पनि प्रहरीले पत्ता लगाइसकेको जनाएको छ । त्यसमा नेपालीको संलग्नता हालसम्म देखिएको छैन । भारतीय र सुडानी नागरिकको गिरोहमाथि सिआइबीले अनुसन्धान अघि बढाएको छ । 

विमानस्थलका प्रमुख भन्सार प्रशासक पोखरेल शंका नगरून् भनेर सुन तस्करीमा तेस्रो मुलुकका व्यक्ति प्रयोग गर्न थालिएको हुन सक्ने बताउँछन् । अझ कमजोर आर्थिक अवस्था भएका अफ्रिकी मूलका व्यक्तिलाई छानिएको उनको भनाइ छ । 

सुझावित समाचार