नेम्वाङ एएफसीको केन्द्रीय सदस्यमा निर्वाचित

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनको राजधानी मनामामा बुधबार भएको एएफसीको ३३औँ चुनावी कंग्रेसबाट नेम्वाङ चारवर्षे कार्यकालका लागि सदस्यमा निर्वाचित भएका हुन् । नेम्वाङ साउथ जोनबाट सन् २०२७ सम्म सदस्यका रूपमा रहनेछन् । साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालिल कार्यसमिति सदस्यमा निर्वाचित हुँदा भारतका महासचिव साजी प्रभाकर पराजित भए । नेम्वाङ गत असारमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै चारवर्षे कार्यकालका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । 

नेपालबाट एएफसीमा दोस्रो प्रतिनिधित्व
नेम्वाङ नेपालबाट एएफसीको कार्यकारी पदमा पुग्ने दोस्रो व्यक्ति हुन् । यसअघि एन्फाका पूर्वअध्यक्ष गणेश थापा एएफसीमा केन्द्रीय सदस्यका रूपमा चयन भएका थिए । थापा एएफसीको उपाध्यक्षसमेत भए । भ्रष्टाचारको मुद्दामा परेपछि थापा १० वर्षको प्रतिबन्धमा छन् । 

अध्यक्षमा शेख खलिफा नै निरन्तर
एएफसीको अध्यक्षमा शेख सलमान विन अब्राहिम अल खलिफा नै पुनः निर्वाचित भएका छन् । बहराइनका शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । शेख सलमान तेस्रो कार्यकाल एएफसीको अध्यक्षमा रहनेछन् । सन् २०१३ मा शेख दशौँ अध्यक्षका रूपमा निर्वाचित भएका थिए । सन् २०१५ मा उनी फिफाको उपाध्यक्ष भए । सन् २०१८ र ०१९ मा फिफाको वरिष्ठ उपाध्यक्ष भएका थिए । यसैगरी, पाँच उपाध्यक्षमा लेबनानका हाचेम हैदर, इरानका मेहदी ताज, भुटानका उगेन छेचुस, म्यानमारका जाव जाव र मंगोलियाका गान्बातार एम्गालान्बातार निर्वाचित भएका छन् । 

सुझावित समाचार