भरतपुरमा रहेको अंकुरम एकेडेमीले विद्यालयका सबै विद्यार्थीलाई आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिँदै स्थापनाको ३२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । एकेडेमीले विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले दुईदिने वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो ।
एकेडेमीले पाँच कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा सोमबार र ६ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा मंगलबार वार्षिकोत्सव मनाएको हो । विद्यालयमा भएका सबै विद्यार्थीले स्टेजमा पुगेर केही न केही प्रस्तुति देखाउने मौका पाऊन् भन्ने उद्देश्यले दुईदिने कार्यक्रम गरेको प्रिन्सिपल सुमन पौडेलले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वार्षिकोत्सवको समापन गर्दै अंकुरम एकेडेमीको गुणस्तरीय शिक्षाका कारण जिल्लाबाहिरका विद्यार्थीसमेत भित्र्याउन सकेको भन्दै प्रशंसा गरेकी थिइन् ।
उनले भनिन्, ‘यो जिल्लामा नै ‘ए’ श्रेणीको विद्यालय हो, महानगरपालिकाले पनि यसलाई ‘ए’ श्रेणीको विद्यालयका रूपमा मान्यता दिएको छ ।’ गुणस्तरीय विद्यालय भरतपुरमा त्यस क्षेत्रका बासिन्दाका लागि गर्वको विषय भएको उनको भनाइ थियो । दाहालले शैक्षिक उत्कृष्टतासहित विद्यार्थीको सर्वांगीण विकास र व्यावहारिक शिक्षाका निम्ति विद्यालय निरन्तर लाग्ने विश्वास व्यक्त गरिन् ।
चार वर्षअघि नयाँ नाम र व्यवस्थापनमा सुरु भएको एकेडेमी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित छ । भरतपुर महानगरपालिकाको तेह्रसालचोकमा रहेको यो संस्थाले विश्वस्तरीय शिक्षा, अत्याधुनिक कक्षाकोठा, स्विमिङ पुल, एयर कन्डिसनसहित १२ कक्षासम्म पठनपाठन गर्दै आएको छ । विद्यार्थी विद्यालयसम्म ल्याउन र लैजान विद्यालयले जिपिएस प्रविधि जडान भएको एयरकन्डिसनसहितको बस सञ्चालन गरेको विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।
करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा रहेको विद्यालयमा एक लाख स्क्वायर फिटको सुविधासम्पन्न भवन छ । जहाँ ३९ वटा कक्षाकोठाका साथै अतिरिक्त क्रियाकलापका लागि ६ वटा, विज्ञानसँग सम्बिन्धित विषयका लागि तीनवटा, कम्प्युटर ल्याबका लागि दुईवटा कोठा रहेको उनको भनाइ छ । आर्ट, म्युजिकजस्ता अतिरिक्त क्रियाकलापका लागि पनि विद्यालयले छुटै व्यवस्था गरेको तथा सबै कोठा वातानुकूलित रहेको अध्यक्ष चन्दले बताए ।