साढे २७ लाखको डिजेल चोरी, निगमले पत्तै पाएन

ट्यांकर हराएको चार दिनसम्म आयल निगमले थाहा नै पाएन, प्रहरीले पक्राउ गर्‍यो

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण
साढे २७ लाखको डिजेल चोरी, निगमले पत्तै पाएन

इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले नियन्त्रणमा लिएको ट्यांकर र पक्राउ परेका चालक–सहचालक । तस्बिर : सौरभ यादव

दुई वर्षपछि इन्धन चोरीको घटना पुनः दोहोरिएको छ । नेपाल आयल निगम लिमिटेडको अमलेखगन्ज (बारा)स्थित मधेस प्रादेशिक कार्यालयबाट विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि चलान भएको एउटा ट्यांकरबाट २७ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरको १६ हजार लिटर डिजेल चोरी भएको छ ।

अमलेखगन्ज डिपोमा २० हजार लिटर डिजेल लोड भएको को.१ख ३६५५ नम्बरको ट्यांकर ११ माघमा विराटनगरका लागि निस्केको थियो । एक दिनमै विराटनगर पुग्नुपर्ने ट्यांकर तेल खन्याउनका लागि पालो कुर्नुपर्ने भएपछि बीचबाटोमै रोकिएको थियो । तर, रोकिएको ट्यांकरका विषयमा विराटनगरस्थित निगमका कर्मचारीले कुनै सोधखोज गरेनन् । सो ट्यांकर बेवारिसे अवस्थामा १४ माघमा सप्तरीको रुपनीमा प्रहरीले फेला पारेको हो ।

बरामत ट्यांकरको १ नम्बर च्याम्बरमा चार हजार लिटर डिजेल रहेको र अन्य २, ३, ४ र ५ नम्बर च्याम्बरमा रहेको कुल १६ हजार लिटर डिजेल चोरी भएको प्रहरीले जनाएको छ । ट्यांकरको डिजेल चोरी भएको पत्ता लागेपछि प्रहरीले ट्यांकरका चालक सप्तरीको कञ्चनरूप नगरपालिकाका नवराज भुजेल र सहचालक विराटनगर–४ का अनिलकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालक र सहचालकले चोरी गरिएको डिजेल सप्तरीकै विक्की टे«डर्स र भण्डारा स्टोर्स पेट्रोलपम्पलाई बिक्री गरेको खुलेको छ । त्यसपछि प्रहरीले पम्प सञ्चालकहरू शेखर गुप्ता र श्यामकुमार साहलाई पनि पक्राउ गरेको छ । २७ लाख ५२ हजार रुपैयाँ बजार मूल्यको डिजेल बोकेको ट्यांकर चार दिनदेखि सम्पर्कमा नआउँदा पनि आयल निगमका कर्मचारीले चासो दिएका थिएनन् । स्थानीय बासिन्दाले बेवारिसे अवस्थाको ट्यांकर देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएपछि मात्रै निगम कर्मचारीले थाहा पाएका हुन् ।

आयल निगम कर्मचारीले गुपचुप राख्न खोजेको तेल चोरी घटना प्रहरी अनुसन्धानबाट बाहिर आएपछि निगमको केन्द्रीय कार्यालयले सोमबार विराटनगर कार्यालयलाई पत्र लेख्दै घटना विवरणबारे सोधेको थियो । निगम प्रवक्ता विनीतमणि उपाध्यायले विराटनगर कार्यालयबाट घटना विवरण मंगलबार साँझ प्राप्त भएको बताए । ‘दुई वर्षपछि फेरि ठूलो परिमाणमा इन्धन चोरीको घटना दोहोरिएको छ । निगमका तर्फबाट विनियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने । यसअघि ०७७ मंसिरमा अमलेखगन्जबाटै विराटनगर जाँदै गरेको ट्यांकरबाट २० हजार लिटर डिजेल चोरी भएको थियो ।

ट्यांकरमा आधुनिक लकिङ लागे पनि फलामको रड काटेर तेल चोरी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यस्तो चोरीको तेल किन्न नपाइने व्यवस्थाविपरीत दुई पम्पले विनियमावलीविपरीत कारोबार गरेको प्रवक्ता उपाध्यायले बताए । आयल निगमको विराटनगर कार्यालय प्रमुख अशोक साहले भने केन्द्रीय कार्यालयबाट घटना विवरण माग भएकाले मंगलबार साँझ पठाएको बताए ।

प्रहरीले चोरी घटनामा छुट्टै अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइरहँदा आयल निगमले पनि ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३’ अन्तर्गत हदैसम्मको कारबाही गर्ने तयारी गरेको छ । कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आफू आएको एक वर्ष नपुग्दै तेल चोरीको ठूलो घटना भएकाले विनियमावलीले हदैसम्मको सजाय गर्ने संकेत दिएको एक कर्मचारीले बताए ।

यस्तो घटनामा ट्यांकरधनीलाई तीन महिनासम्म तेल ढुवानी गर्न नमिल्ने गरी निलम्बन गर्ने व्यवस्था छ । यो ट्यांकर पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको पूर्वाञ्चल कमिटीका वरिष्ठ उपाध्यक्ष गुणराज निरौलाको हो । निरौलाको ट्यांकर भएकाले विराटनगर कार्यालयमा कार्यरत निगम कर्मचारीले यो घटनालाई गुपचुप राख्ने प्रयत्न गरेको स्रोतको भनाइ छ । प्रहरीको सहयोगमा घटना बाहिरिएपछि विनियमावलीअनुसार ठूलो कारबाही गर्नुपर्ने पक्षमा कार्यकारी निर्देशक थानीले जोड गरेको स्रोतको भनाइ छ ।

चालक–सहचालकलाई भने ६ महिनासम्म तेल बोक्ने ट्यांकर चलाउन बन्देज लगाउने निगमको तयारी छ । त्यस्तै, चोरी भएको तेलको बजार मूल्यको दुई गुणा जरिवानासमेत तिराउन सक्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार ढुवानीकर्ता निरौलालाई १६ हजार लिटर तेल चोरी भएको परिमाणअनुसार दुई गुणा हुन आउने ५५ लाख चार हजार रुपैयाँ जरिवाना तिराउनुपर्ने हुन्छ ।

विगतमा पनि तेल चोरीका घटनामा ढुवानीकर्तालाई दोब्बर जरिवाना हुने गरेको थियो । निगम कर्मचारीको सहमतिविना ठूलो परिमाणमा तेल चोरीको घटना सम्भव हुँदैन । तर, प्रत्येक छानबिनमा कर्मचारीलाई सतर्क वा सचेत गराउनेसम्मका अभ्याससमेत हुने गरेको छैन । जसकारण वेला–वेला तेल चोरीका घटना दोहोरिने गरेको निगमका एक कर्मचारीले बताए । 

तेल चोरी घटनामा विराटनगर डिपो सबैभन्दा बढी बदनाम
आइओसीको रिफाइनरी–टमिर्नलबाट पेट्रोल, डिजेल र मट्टीतेल तथा अमलेखगन्जबाट डिजेल ढुवानी गर्ने विराटनगर डिपोमा सबैभन्दा धेरै तेल चोरीका घटना हुने गरेका छन् । विगतमा पनि विराटनगर डिपोसँग जोडिएर पटक–पटक तेल चोरी हुने गरेकाले यसपटक १६ हजार लिटर डिजेल चोरी हुँदासमेत कर्मचारीलाई सामान्य घटना लागेर वास्ता नगरेको देखिन्छ ।

संक्रमणकालदेखि ०७२ मा भारतले नाकाबन्दी गरेको समयसम्म आउँदा विराटनगर डिपोको कर्मचारीकै मिलेमतोमा आइओसीको बरौनी रिफाइनरीमा लोड भएको तेल भारततर्फ बजारभाउभन्दा सस्तोमा बेच्ने र खाली ट्यांकर नेपाल ल्याउने गरेको आरोप लाग्दै आएको थियो । यसोभन्दा भन्सार कार्यालयमा भने ट्यांकरमा पूरा तेल रहेको भन्दै तोकिएको भन्सार दस्तुर भने बुझाउने गरिएको थियो । यस्तो आरोपलाई ४ मंसिर, ०७५ को एउटा घटनाले पुष्टि गरिदिएको थियो । त्यतिखेर बरौनीबाट डिजेल बोकेर आएको ट्यांकरबाट २५ सय लिटर भारतमै बिक्री गरेको पुष्टि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छानबिन प्रतिवेदनले गरेको थियो । त्यतिवेला पनि कर्मचारीलाई कारबाही गर्नुको सट्टा डिजेल चोरी गरिएको को.१ख ५९६५ नम्बरका ट्यांकरधनी सुकदेव सिंह र चालक–सहचालकलाई कारबाही गरी घटना सामसुम पारिएको थियो ।

कर्मचारीको चरम लापरबाहीका कारण भदौ, ०७८ मा विराटनगर कार्यालयको प्रांगणमा पार्किङ गरिराखेको ना.४ख ४६९ नम्बरको ट्यांकर नै चोरी भएको थियो । २० हजार लिटर डिजेल रहेको ट्यांकर नै चोरी भएपछि प्रहरीको सक्रियतामा भगाउँदै लगेको ट्यांकर बुढीगंगा गाउँपालिका–३, बाँसबारीबाट समातिएको थियो । त्यस्तै, ०७७ मंसिरमा अमलेखगन्जबाटै विराटनगरका लागि २० हजार लिटर डिजेल लिएर गएको ना.४ख ४१६३ नम्बरको ट्यांकर सिरहाबाट हराएको थियो । यो ट्यांकर जनकपुर–ढल्केबर सडकखण्डमा रित्तो फेला परेको थियो । 

सुझावित समाचार