८७ प्रकारका सूचना गोप्य राख्ने निर्णय फिर्ता : संविधान र कानुन प्रतिकूल नहुने गरी परिमार्जन हुने

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण
८७ प्रकारका सूचना गोप्य राख्ने निर्णय फिर्ता : संविधान र कानुन प्रतिकूल नहुने गरी परिमार्जन हुने

मुख्यसचिव शंकरदास वैरागी

प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचना वर्गीकरण निर्णय फिर्ता भएको छ । समिति संयोजक मुख्यसचिव वैरागी, सञ्चार तथा सूचना प्रविधिसचिव डा. वैकुण्ठ अर्याल, पत्रकार महासंघका प्रतिनिधि र प्रधानमन्त्रीको प्रेस टोलीबीच सोमबार छलफलपछि निर्णय फिर्ता लिएको हो । 

‘प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय’ शीर्षकमा सोमबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । हाललाई सूचना वर्गीकरण विवादित निर्णय फिर्ता लिने र सरोकारवाला तथा विज्ञसमेतसँग छलफल गरेर संविधान र कानुन प्रतिकूल नहुने गरी परिमार्जन गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । ‘मुख्यसचिव नेतृत्वको समितिले सूचना वर्गीकरण गरेर अध्ययनका लागि राष्ट्रिय सूचना आयोगमा पठाएको रहेछ,’ उनले भने, ‘यो विषय विवादित भएपछि प्रधानमन्त्रीज्यूसमेतको ध्यानाकर्षण भएपछि आज मुख्यसचिवसहित सञ्चारसचिव, पत्रकार महासंघका प्रतिनिधि र प्रधानमन्त्रीको प्रेस टोलीसहितको बैठकले पुरानो वर्गीकरण फिर्ता लिएर संविधान र सूचनाको हकसम्बन्धी ऐनको प्रतिकूल नहुने गरी परिमार्जन गर्ने निर्णय भएको छ ।’ 

मुख्यसचिव वैरागी नेतृत्वको समितिले संविधानले नै निर्दिष्ट गरेको सूचनाको हकलाई कुण्ठित गर्ने गरी गत १२ पुसमा सूचना वर्गीकरणको निर्णय गरेको थियो । समितिले सरकार र सार्वजनिक पदाधिकारीको पारदर्शिता, अनियमितता र सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई पनि गोप्यअन्तर्गत वर्गीकरण गरेको थियो । वर्गीकरणबाट संविधानप्रदत्त मौलिक हकसमेतको हनन हुने भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए । 

मनहरि तिमिल्सिना प्रधानमन्त्रीका प्रेसविज्ञ

मुख्यसचिव नेतृत्वको समितिले सूचना वर्गीकरण गरेर अध्ययनका लागि राष्ट्रिय सूचना आयोगमा पठाएको रहेछ, यो विषय विवादित भएपछि र  प्रधानमन्त्रीज्यूसमेतको ध्यानाकर्षण भएपछि आज मुख्यसचिवसहित सञ्चारसचिव, पत्रकार महासंघका प्रतिनिधि र प्रधानमन्त्रीको प्रेस टोलीसहितको बैठकले पुरानो वर्गीकरण फिर्ता लिएर संविधान र सूचनाको हकसम्बन्धी ऐनको प्रतिकूल नहुने गरी परिमार्जन गर्ने निर्णय भएको छ ।

सुझावित समाचार