लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिकस्थलको रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ ढगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निर्माण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो ।
गाउँपालिकाले उक्तस्थलको संरक्षण र विकासका लागि ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’को नयाँ कार्यसमितिसमेत गठन गरेको छ । शनिबार भएको स्थानीयहरूको भेलाले प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
यसैगरी, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । विभिन्न संरचनासहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निर्माण गरिसकेको छ ।
पर्यटन प्रवर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा गाउँपालिकाले नेपाल एकीकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सम्मान र कदर गर्दै केन्द्र तथा पार्क निर्माण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार पालिकाले चालू आर्थिक वर्षमा स्मृति केन्द्रको लागि पाँच लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट खानेपानी र शौचालय निर्माणको योजना रहेको छ ।