रवि लामिछाने गृहमन्त्री बनेर सिंहदरबार पसे, ‘अनागरिक’ भएर बाहिरिए

शनिबार, १४ माघ, २०७९
डिजिटल संस्करण

११ पुसमा उपप्रधानमन्त्रीसहित गृह प्रशासनको नेतृत्व सम्हालेका रवि लामिछाने नियमित कार्यालय समय वा त्यसअघि नै मन्त्रालय आइपुग्थे । मन्त्रालयमा रहँदा उनी भेटघाट, फाइल अध्ययन र शान्ति सुरक्षाको अवस्थाबारे रिपोर्टिङ लिनमै व्यस्त हुन्थे । 

तर, शुक्रबार उनी फरक हाउभाउमा देखिन्थे । उनी कार्यालय समयमै गृह मन्त्रालय पुगेका थिए । मन्त्रालयमा रहँदै गर्दा उनको नागरिकतामाथिको मुद्दामा सर्वोच्चमा बहस जारी थियो । त्यसैले उनको नजर मन्त्रालयका फाइलमा होइन, मुद्दाको बहस भइरहेको सर्वोच्चको संवैधानिक इजलास थियो । 

बहस सकिएर दिउँसो १ बजेतिर जब मुद्दाको फैसला आउने निधो भयो । उनमा छटपटी सुरु भयो । मन्त्री मात्र होइन, सिंगो गृह मन्त्रालयमा सन्नाटाजस्तो देखिन थाल्यो । तर, उनी फैसलाको पर्खाइमा मन्त्रालयमै बसिरहे । त्यतिन्जेल सचिव र सहसचिवहरूसँग छलफल गरे । 

साँझ साढे ५ बजेतिर सर्वोच्चको फैसला सार्वजनिक भयो । फैसलाले उनको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदियो । नागरिकता अवैध ठहर भएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री, सांसद र पार्टी सभापतिसमेतको सबै पद एकाएक गुम्यो ।

पुनः नागरिकता लिनुपर्ने प्रक्रियामा चुक थियो भन्ने उनले जानेका थिए, त्यसैले फैसला उनका लागि अनपेक्षित थिएन । सर्वोच्चको फैसलापछि उनले मन्त्रालयका अधिकारीलाई आफू मन्त्री नरहे पनि नागरिकका पक्षमा काम गर्न भने । र, मन्त्रीको दौरा–सुरुवालमा मन्त्रालय गएका उनले पोसाक बदले ।

मन्त्रालयका अधिकारीसँग बिदा भए । आफ्नै गाडी मगाए र ७ बजेतिर त्यहाँबाट बाहिरिए । मन्त्रालयको प्रांगणमा आफू ‘अनागरिक’ भएको प्रतिक्रिया दिए । ‘अब म केही होइन, कहीँको पनि होइन । तपाईंहरू एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’ मन्त्रालयबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीसँग भने । 

मन्त्रालयका अनुसार ११ पुसमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा पदबहाली गरेका उनले तलब र अन्य सुविधा विवरण नबुझाएकाले भुक्तानी भएको छैन । तर, गृहमन्त्रीका रूपमा लामिछानेले सेवा–सुविधा र सचिवालयलगायतको खर्चलाई विगतका तुलनामा कटौती गरेका छन् । 

एक कर्मचारीका अनुसार साबिकका मन्त्रीका तुलनामा उनी आएपछि सचिवालयलगायतमा खर्च करिब एकतिहाइले कटौती भएको छ । आर्थिक हिसाबमा पारदर्शी हुन उनले कर्मचारीलाई निर्देशन नै दिएका छन् । 

सेवा प्रवाहको सहजीकरण, प्रणाली सुधार र थिति बसाउने मामिलामा गृहमन्त्री रहँदा लामिछानेले लिएका पहल सम्झनलायक देखिन्छ । उपप्रधान तथा गृहमन्त्रीमा पदबहाली गरेकै दिन पहिलो निर्णयका रूपमा उनले लामो समयदेखि गिजोलिएर निष्कर्षमा पुग्न नसकेको बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको निष्पक्ष अनुसन्धान अघि बढाउन निर्देशन दिए । निर्देशनबमोजिम गठित टोलीबाट अनुसन्धान प्रक्रिया अहिले जारी छ । 

लगत्तै उनले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा दुरुपयोग भइरहेको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरे । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न २४ घन्टे निर्देशन जारी गरे । त्यसअनुसार अहिले राजनीतिक पदाधिकारी तथा पूर्वप्रहरीले कार्यविधिविपरीत राखेका करिब तीन सय सुरक्षाकर्मी फिर्ता भइसकेका छन् ।  उपप्रधान तथा गृहमन्त्रीका हैसियतमा प्रयोग हुँदै आएका सुरक्षाकर्मीका  पछुवा गाडी हटाउने निर्णय पनि उनले गरे । 

सरकारी सेवा लिन नागरिकले पाइरहेको सास्ती बुझ्न उनी आफैँ अनुगमनमा निस्के । राहदानी प्राप्तिमा ठूलो सास्ती व्यहोर्नुपर्ने गुनासोबीच उनी राहदानी विभागको छड्के अनुगमनमा गए । तर, विभागीय कार्यक्षेत्र मिचेर परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागमा गृहमन्त्री अनुगमनमा गएको भनेर केही आलोचना पनि भयो । 

यसैबीचमा उनले नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत जिल्ला प्रशासनका सेवामा नागरिकले झेलेको सास्ती र भिडभाड कम गर्न ‘टाइम कार्ड’ लागू गर्न निर्देशन दिए । त्यसबमोजिम काठमाडौं, ललितपुरलगायत जिल्लाले जिल्ला प्रशासनका सेवामा ‘टाइम कार्ड’ लागू गरे । 

मन्त्रालय र मातहतका निकायका सेवामा नागरिकका गुनासा सुनेर त्यसलाई तुरुन्तै समाधान गर्न निर्देशनसमेत उनले दिएका थिए । नागरिकलाई शीतलहर र चिसोबाट जोगाउन जिल्लाहरूमा रकम पठाउन निर्देशन दिए । निर्देशनबमोजिम शीत प्रभावित जिल्लामा गृह मन्त्रालयले रकम पठाएको छ । 

केही समयअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय पनि उनकै प्रस्तावमा भएको थियो । त्यसले काम थालिसकेको छ । 

गृहमन्त्रीका रूपमा उनले गरेको अझ महत्वपूर्ण विषय हो, प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवाको कार्यविधि । सिडिओ सरुवामा वर्षौँदेखि रहँदै आएको व्यापक गुनासो र कानुनी रिक्ततालाई सम्बोधन गर्न उनले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरे । कार्यविधिको मर्मविपरीत घुसको आरोपित सिडिओको सरुवासमेत रोकेर उनले छानबिनसमेत अघि बढाएका छन् । 

प्रहरीको सरुवा–बढुवामा केही हदसम्म उनले सुधारको प्रयास गरे । डिआइजी र एसएसपीको सरुवामा विगतको तुलनामा निष्पक्ष हुँदा उनको तारिफ भयो । प्रहरीको सरुवा मापदण्ड बनाउने काम पनि उनको निर्देशनबमोजिम मन्त्रालयले अघि बढाएको छ । यसको मस्यौदा बनिसकेको छ । त्यस्तै, विवादित बनेको विभूषण वितरणमा पनि सुधार थालिएको थियो । यसका लागि कार्यदल बनिसकेको थियो । 

यसबीचमा अवैध क्रसर बन्द गर्न उनले दिएको निर्देशन भने विफल भयो । गत २० पुसमा उनले देशभरका अवैध क्रसर बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए । तर, व्यापक दबाबबीच निर्णय टिक्न सकेन । अघिल्लो मन्त्रिपरिषद्ले सर्तसहित क्रसर खुला गरेको छ । 

सुशासनका दृष्टिले शून्य सहनशीलताको नीतिअनुसार पारदर्शी र उत्तरदायी भएर काम गर्न उनले मातहतका कर्मचारीलाई निर्देशन नै दिए । दबाब र सोर्सफोर्सविना काम गर्न उनले सम्बद्ध निकायहरूलाई निर्देशन दिएका थिए । ‘समग्रमा कामप्रतिको निष्ठामा यति प्रतिबद्ध मन्त्री यसअघि थिएनन्,’ एक कर्मचारीले भने ।
 

सुझावित समाचार