सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि दिनेशलाई

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण

सातौँ वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ वरीयताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेशले उपाधि हात पारेका हुन् । उपाधिसँगै दिनेशले ६० हजार र दोस्रो भएका रमेशले ४२ हजार रुपैयाँ जितेका छन् । 

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा चार होलको अग्रता लिएका थिए । १८ होलको समाप्तिमा दिनेशले आठ होलको फराकिलो अग्रता लिए । खेलमा फर्कने संकेत देखाएका रमेशले १९औँ, २०औँ, २१औँ र २२औँ होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए । 

दिनेशले २३औँ होल जित्दा रमेशले २४औँ र २५औँ होल आफ्नो पक्षमा पार्र्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे । तर, २६औँ र २७औँ होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए । यसपछि दिनेशले २९औँ र ३०औँ होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए । 

प्रतियोगितामा‌ आठौँ वरीयताका धनबहादुर थापा तेस्रो भए । १८ होलको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि धनबहादुरले प्ले–अफको पहिलो होलमा १०औँ वरीयताका भुवनकुमार रोक्कालाई पराजित गरे । क्वार्टरफाइनलमा पराजित भएका नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्काले समान ११ हजार रुपैयाँ जिते । यसैगरी, पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार प्राप्त गरे । 

See More On

सुझावित समाचार