कुमारी मोक्तान : बागमतीकी एक मात्र महिला मन्त्री

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

पुस २५ गते नियुक्ति लिएर २६ गते पद तथा गोपनीयताको शपथ लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले सत्तागठबन्धनका दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाबाट गरी आठ नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

सत्तासाझेदार दलरुरूबीच एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको थियो । सोहीअनुसार बुधबार एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाबाट दुई गरी थप आठ मन्त्रीहरूले शपथ लिएका हुन् ।

११ सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन हुँदा एकजना महिलाले मात्र मन्त्री बन्ने अवसर पाएकी छिन् । बुधबार पूर्णता पाएको प्रदेशको मन्त्रिपरिषदमा माओवादी केन्द्रकी तर्फबाट कुमारी मोक्तान एकजना मात्रै महिला मन्त्री बनेकी हुन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

को हुन् कुमारी मोक्तान ?
१६ वर्षको उमेरमै जनयुद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथोपटक संसद्को यात्रा तय गरेकी हुन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी मोक्तानले एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मतले पराजित गरेकी हुन् । कुल ४६ हजार एक सय सात मत खसेको यस क्षेत्रमा मोक्तानले १९ हजार आठ सय ७३ मत प्राप्त गरेकी थिइन् ।

तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै मोक्तान विद्यालय शिक्षा छाडेर जनयुद्धमा होमिएकी थिइन् । ०३६ सालमा जन्मिएकी मोक्तानले ०५० सालमा विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा संगठित हुँदै पार्टीमा क्रियाशील रहँदा ०५६ सालमा तत्कालीन शाही नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान ०५८ मा रिहा भएकी थिइन्  ।

०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव भएकी मोक्तान ०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै ०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालीन जनसरकार प्रमुखसमेत बनेकी थिइन् । मोक्तान शान्ति सम्झौतापछि ०६३ सालमा विधायिका सदस्य मनोनीत भइन् ।

उनी ०६४ सालमा तत्कालीन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् भने ०७४ को प्रदेश सभा निर्वाचनमा पनि हालकै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । ०७८ मा राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा प्रदेश सरकारको सामाजिक विकासमन्त्री बनेकी मोक्तान यसपटक पनि शालिकराम जम्कट्टेलको मन्त्रिमण्डलमा सामाजिक विकासमन्त्रीकै रूपमा नियुक्त भएकी हुन् ।

सुझावित समाचार