खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा करिब ९८ अर्ब 

वाणिज्य बैंकहरूलाई कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्र्रियामा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले खराब कर्जा बढ्दै जाँदा बैंकको आम्दानी घट्न थालेको बताएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले ६ महिनाको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा खस्किएको बताए । कृषि विकास बैंक घाटामा गएको उल्लेख गर्दै उनले पहिलोपटक वाणिज्य बैंक नोक्सानमा गएको बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएको छ । यस बैंकको खराब कर्जासमेत बढेर ४.८ प्रतिशत पुगेको छ । ‘अप्ठ्यारो स्थितिमा पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कोभिडको समयमा पनि हामीले काम गरेकै हौँ । पहिलोपटक ६ महिनामा कृषि विकास बैंक घाटामा गएको छ । गत आर्थिक वर्षमा ३१ अर्बको कर तिर्‍यौँ, हामी पारदर्शी भएकाले तिरिएको छ ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल)बाहेक सबै वाणिज्य बैंकहरूको ६ महिनाको प्रतिवेदन सार्वजनिक भइसकेको छ । अधिकांश बैंकहरूको नाफामा गिरावट आएको उनले बताए । त्यस्तै, साना क्षेत्रमा जाने कर्जाको किस्ता असुलीमा समेत समस्या भएको उनले जानकारी दिए । केसीले भने, ‘अहिले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको छ ।’ अहिले संसारभर नै आर्थिक गतिविधि संकुचित भएकाले त्यसको असर नेपालमा समेत परेको उनको भनाइ छ । वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर बढे पनि अन्य मुलुकहरूको तुलनामा भने कमै रहेको उनले बताए । 

कृषि विकास बैंकको वार्षिकोत्सवमा पनि केसीले कर्जा असुलीमा समस्या भइरहेको बताएका थिए । उनले कर्जा तिर्नुनपर्ने असाधारण माग राख्दै एउटा समूह लागिपरेको समेत बताएका थिए । 

संघका उपाध्यक्ष सन्तोष कोइरालाले अहिले देखिएको खराब कर्जा व्यवस्थापन गर्न भने सकिने खालको रहेको जानकारी दिए । उनले भने, ‘घरजग्गा, सहकारीलगायत अन्य व्यवसायमा देखिएको मन्दीको असर बैंकमा पनि नपर्ला भन्न सकिन्न, तर अहिलेसम्मको अवस्था हेर्दा यो समाधान गर्न सकिने स्तरमै रहेको हाम्रो मूल्यांकन छ ।’

४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको छ । अर्थात्, ९७ अर्ब ९६ करोड रुपैयाँबराबरको कर्जाको साँवा र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको औषत निष्क्रिय कर्जा १.०६ प्रतिशत थियो । 

वाणिज्य बैंकहरूको नाफा गत चार आर्थिक वर्षकोभन्दा कम देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ३० अर्ब ८१ करोड नाफा रुपैयाँ कमाएका बैंकहरूको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३० अर्ब १९ करोड रुपैयाँमा सीमित छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा भने बैंकहरूको नाफा ३४ अर्ब २१ करोड थियो । ‘विगत ६ महिनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च भने ८४ प्रतिशतले बढेको छ,’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘बैंकहरूले गत वर्षसम्म औसत १४.३ प्रतिशतसम्म लाभांश दिइरहेका थिए । यस वर्ष १०.७६ प्रतिशतबराबर मात्र दिन सफल भएका छन् ।’ 

बैंकहरूको सेयरमा प्रतिफल (आरओई)समेत आर्थिक वर्ष ०६९/७० मा २४.४२ प्रतिशतसम्म रहेकोमा हाल ११.७३ प्रतिशतमा सीमित भएको छ । आगामी वैशाखमा कर्जा र निक्षेपको ब्याजअन्तर ४.२ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि त्यसअनुसार व्यवस्थापन गर्दा ब्याजदर नबढ्ने हुन सक्ने बैंकरहरूको भनाइ छ । ब्याजदरको उतारचढावबाट सुरक्षित हुन ऋणीहरूले समेत स्थिर ब्याजदरलाई स्वीकार गर्नुपर्नेमा त्यसो नभइरहेको उनीहरूको भनाइ छ ।

See More On

सुझावित समाचार