प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ । फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन भएलगत्तै फागुन अन्तिम सातादेखि चैत पहिलो साताबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने तयारी छ । भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने गरी दिल्लीमा तयारी भएको छ । 

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । प्रचण्डले दिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारीमा काम गरिरहेको बताएका थिए । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमण तयारीबारे सञ्चारमाध्यममा भन्न मिल्ने विषय अहिले नभएको बताइन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि भ्रमणका विषयमा प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । 

कूटनीतिक स्रोतका अनुसार मोदीको चिठीमा बधाई सन्देश मात्रै उल्लेख छ, निमन्त्रणा छैन । ‘पछिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्रीबाट बधाई सन्देश मात्रै आएको छ, उहाँहरूभन्दा पहिला बधाई सन्देशमा निमन्त्रणा पनि आउँथ्यो, यसपटक बधाई मात्रै आएको छ,’ कूटनीतिक स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डलाई विदेशबाट आएका बधाई सन्देशमध्ये बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सन्देशमा मात्रै भ्रमणको निमन्त्रणा दिइएको छ । 

कूटनीतिक स्रोतका अनुसार माघ अन्तिम सातादेखि फागुन पहिलो साताबीचमा विदेशसचिव क्वात्रा नेपाल आउने तयारी छ । ‘भारतीय विदेशसचिवको भ्रमण पनि हुन्छ, प्रधानमन्त्री प्रचण्डको पनि भारत भ्रमण हुन्छ । तर, मिति तय हुने क्रममा छ,’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । यसअघि परराष्ट्रसचिव भरतराज पौड्यालले २८ देखि ३० भदौसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेशसचिव क्वात्रालाई पौड्यालले त्यसवेला नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका थिए । पौड्यालको निमन्त्रणामा क्वात्राले नेपालको भ्रमण गर्ने तयारी भएको हो । भारतीय विदेशसचिव क्वात्राले ४ देखि ६ माघमा भुटानको भ्रमण गरेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसवेला प्रधानमन्त्री देउवालाई मोदीले निमन्त्रणा दिएका थिए । ‘अहिले प्रधानमन्त्री देउवा नभए पनि नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीका तर्फबाट दिइएको निमन्त्रणा हो । त्यो निमन्त्रणा बहालवाला प्रधानमन्त्रीको हकमा लागू हुन्छ,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीज्यू भारतीय पक्षसँग सम्पर्कमा हुनुहुन्छ, कूटनीतिक च्यानलबाट भ्रमणको तयारी भइरहेको छ ।’ 

प्रचण्डको पछिल्लो भारत भ्रमण
यसअघि प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डा, भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायत अधिकारीसँग भेटवार्ता गरेका थिए । प्रचण्डले दिल्लीमा फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गरेका थिए । प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गरेका थिए । 
 

सुझावित समाचार