सौन्दर्य प्रतियोगिता आयोजना गर्ने पाण्डे बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

बुधबार, ११ माघ, २०७९
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले मोडेल भिजाज कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डे भनिने मनोजकुमार जैसीलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६ महिना कैदका साथै पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उनीमाथिको मानव बेचबिखन अभियोगमा भने २३ माघमा सजाय निर्धारण गर्ने गरी पेसी तोकिएको अदालतले जनाएको छ । न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार यस्तो फैसला गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले गत १ असारमा १८ वर्षमुनिकी एक किशोरीमाथि आठ वर्षअघि बलात्कार गरेको दाबीसहित मुद्दा दर्ता गरेको थियो । पाण्डेउपर मानव बेचबिखन–ओसारपसारको मुद्दा पनि दर्ता भएको थियो । अभियुक्त पाण्डे हाल पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा दर्ता भएको सात महिनामै अदालतबाट फैसला आएको हो । जसमध्ये बालयौन दुराचारको अपराधमा पीडित युवतीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४ को दफा ८(२) मा कसुरदार ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने उल्लेख छ । 

सौन्दर्य प्रतियोगितामा भाग लिएकी १६ वर्षीया एक किशोरीलाई पाण्डेले सन् २०१४ मा होटेलमा बोलाई बलात्कार गरेको भनेर उजुरी दिएकी छिन् । पाण्डेका साथै अरूलाई पनि बोलाएर बलात्कार गरेको भन्दै ती किशोरीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । जसपछि प्रहरीले पाण्डेलाई ७ जेठमा पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई थुनाबाटै मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो । 

पाण्डेले ती किशोरीको बलात्कार गर्नुका साथै त्यसको भिडियोसमेत बनाएर पटक–पटक जबर्जस्ती करणी गरेको अभियोग छ । आठ वर्षपछि घटना सार्वजनिक भएका कारण जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थिएन । त्यसपछि उनले मानव बेचबिखन तथा ओसारपसार कसुरमा उजुरी दिएकी थिइन् र प्रहरीले अनुसन्धान गरी सोही अभियोगमा मुद्दा दायर गरेको थियो । पाण्डेले ती किशोरीलाई बलात्कार गरेको भिडियो देखाउँदै अन्यसँग पनि सम्बन्ध राख्न लगाएका थिए । लगातार ६ महिनासम्म यो क्रम चलेको सरकारी पक्षको दाबी थियो । 

सुझावित समाचार