राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)का पाँचजना पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन पालना नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एकैपटक नेवानिका पाँचजना पाइलटलाई कारबाही गर्न पत्राचार गरेको हो ।
निलम्बनमा पर्नेमा एयरबस–३२० का दुईजना र एयरबस–३२० जहाजका तीनजना पाइलट रहेका छन् । शुक्रबार काठमाडौंबाट उडेको न्यारोबडी जहाज हङकङ इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्दा एटिसीको निर्देशन पालना नगरेको आरोप लागेको छ । एटिसीको निर्देशन पालना नगरेको भन्दै हङकङ सिभिल एभिएसनबाट पत्र आएपछि क्यानले पाइलट उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा र राजेश कुशवाहलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
शुक्रबार नै काठमाडौंबाट जापानको नारिता उडान गर्न लागेको वाइडबडी एयरबस–३३० जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) पालना नगरेको क्यानले जनाएको छ । एसओपी उल्लंघन गर्ने वाइडबडी जहाजचालक वाइपी राणा जुहार्चन र प्रसन्न राणालाई पनि उडानमा रोक लगाउन नेवानिलाई पत्राचार गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । एकै दिन दुईवटा ठूला जहाजका वरिष्ठ पाइलटहरू निलम्बनमा परेको सम्भवतः यो पहिलो घटना हो । निलम्बनमा परेका पाँचजना पाइलटले तत्काल जहाज उडाउन पाउनेछैनन् । पाइलटहरूको छानबिन र स्पष्टीकरण सोध्ने तयारी भइरहेको प्रवक्ता निरौलाले बताए ।
विमानचालकले एटिसीको के निर्देशन पालना नगरेको भन्ने विषय भने क्यानले खुलाएको छैन । पाइलटलाई कति समयसम्मका लागि निलम्बन गरिएको भन्ने पनि खुलेको छैन । दुवै उडानको विस्तृत अध्ययन गरेर मात्रै पाइलटमाथि के–कस्तो कारबाही गर्ने भन्ने निर्णयमा पुग्ने निगम व्यवस्थापनले जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियन (इयू)ले नेपालको हवाई सुरक्षामा प्रश्न उठाउँदै आइरहेका छन् ।