जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् ।

सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । उनले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए ।

‘कुन जहाज कतिवेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ,’ उनले भने, ‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ । तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस् ।’

मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए ।

‘जहाज अबउप्रान्त समयमै उड्नुपर्छ । हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनुहुँदैन,’ उनले भने, ‘नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधै साथ दिन्छु ।’

सुझावित समाचार