राष्ट्रपति भण्डारीले गरिन् चाँगुनारायण मन्दिरकाे अवलोकन

शनिबार, ७ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गरेकी छिन्। 

आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखेकी थिइन्। चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्धारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराएका थिए। 

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराए। मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उनलाई टीका, फूल प्रसाद प्रदान गरे। 

नेपाली रुपैयाँ नोटमा छापिएको गरुडको छाप र चाँगुनारायण मन्दिरमा रहेको गरुडको मूर्तिको नोटमा हेरेर त्यसबारेमा राष्ट्रपति भण्डारीले जिज्ञासा राखिन्। उनले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण संग्रहालयको समेत अनुगमन गरेकी थिइन्। 

सुझावित समाचार