श्रममन्त्री अर्यालको स्पष्टीकरण : दर्जनौँ व्यवसायमा छु, म्यानपावर व्यवसायी होइन

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

नवनियुक्त श्रममन्त्री डोलप्रसाद (डिपी) अर्यालले आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी गरेका छन् । 

आफूमाथि उठेका प्रश्नबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै मन्त्री अर्यालले आफू संलग्न व्यवसायको फेहरिस्त सार्वजनिक गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम तथा रोजगारमन्त्रीमा नियुक्त भएपछि स्वार्थको द्वन्द्व हुने भन्दै आलोचना भएपछि उनको स्पष्टीकरण आएको हो । 

‘म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढी पेसा र व्यवसायमा लड्दै, उठ्दै, आबद्ध, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ,’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले देशका हरेक क्षेत्रका उद्योग–व्यवसायमा थोरैथोरै संलग्नता भएकाले स्वार्थ नबाझिने त कुनै क्षेत्र नै नरहेको दाबी गरेका छन् । 

‘एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन । म कृषि फार्ममा  छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेसन कन्सल्टेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटेल व्यवसायमा छु, क्याटरिङ व्यवसायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु । तर, म्यानपावर कम्पनीमा म कहिले पनि छैन,’ उनले लेखेका छन् ।  

स्पष्टीकरणमै उनले आफू एउटा कम्पनीमा सल्लाहकार रहेको भने स्वीकार गरेका छन् । ‘हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर  ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए, तर हटाइदिन भुले । तर, त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी । समाचार बनाउनेहरूले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?’ उनले प्रश्न गरेका छन् । 

साथै उनले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन नगरेको जिकिर गरेका छन् । उनले समाचार लेख्ने सञ्चारमाध्यमहरूमाथि पनि आक्रोश पोखेका छन् । 

‘म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरूले पनि आफ्नो पेसाको मर्यादा र गरिमा राखिदिऊन् । नेपालको प्रेसले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन् । बाई द वे म तेल उद्योगमा पनि संलग्न थिएँ । खैर जे होस्, मलाई प्रेस जगतसँग सवाल–जवाफ गर्नु छैन, काम गर्नु छ ।’

सुझावित समाचार