रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि सोभियत संघको पतनलाई ‘भूराजनीतिक त्रासदी’ भन्दै आएका छन् । एक वर्ष पुगेको युक्रेन अतिक्रमणलाई सोभियत साम्राज्य पुनरुत्थान गर्ने उनको दीर्घकालीन प्रयासका रूपमा हेर्न सकिन्छ । उसो त यो प्रयास असफल हुने पक्कापक्की नै छ तैपनि पुटिनले सोभियतकालीन केन्द्रीकृत (तर निष्प्रभावी) आर्थिक प्रणाली लागू गर्न सक्छन् ।
रुसको अर्थतन्त्र पश्चिमा प्रतिबन्धका कारण मारमा परेका वेला मुलुकका केही उत्कृष्ट अर्थशास्त्री एवं गणितज्ञले पञ्चवर्षीय योजना र मात्रात्मक उत्पादन लक्ष्यका कार्यक्रम ब्युँताउन सुझाइरहेका छन् । एक वरिष्ठ अर्थशास्त्री रुस्लान ग्रिनबर्गले सोभियत संघ स्थापनाको सयौँ वार्षिकोत्सवका अवसरमा एक अन्तर्वार्तामा योजनाबद्ध अर्थव्यवस्था पुनस्र्थापनाका लागि आह्वान नै गरे । यदि ग्रिनबर्ग रसियन एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ इकोनोमिक्सका प्रमुख नभएको भए उनको टिप्पणीलाई खारेज गर्न पनि सकिन्थ्यो ।
ग्रिनबर्गले सेनाको आवश्यकतालाई ध्यानमा राख्ने युद्ध अर्थतन्त्रमा जोड दिएका छैनन् । उनी यस्तो योजनाबद्ध अर्थव्यवस्था चाहन्छन् जुन ‘निर्देशनात्मक नभई संकेतात्मक’ होस् । उनी सरकारले आर्थिक प्राथमिकता तर्जुमा गर्नुपर्छ, तर उद्योगलाई के उत्पादन गर्ने र कहिले उत्पादन गर्ने भन्नेबारे निर्देशन दिन नहुने बताउँछन् । बरु राज्यले ‘अनुदान र वित्तीय एवं भन्सार नीतिमार्फत उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ’ भन्ने राय व्यक्त गर्छन् ।
ग्रिनबर्गले नीति र बजारमा सामन्जस्यता कायम गर्ने गरी सुझाव दिइरहँदा अन्यले भने चर्काे सुझाव दिएका छन् । रसियन एकेडेमी अफ साइन्सेसको सेन्ट्रल मेथेमेटिकल इन्स्टिच्युटका निर्देशक अल्बर्ट बाख्तिजिन ‘संकेतात्मक योजना’का पक्षमा मात्र नभई पञ्चवर्षीय योजना (प्यातिलेत्का)लाई ब्युँताउनुपर्ने बताउँछन, जसलाई उनले ‘लक्ष्यको स्पष्ट परिभाषा र सामाजिक रूपमा महत्वपूर्ण सूचकहरूको प्रणालीलाई लिएर बनाइने रणनीतिक योजना’ भनेर परिभाषित गरेका छन् । उनी राज्यले ‘के उत्पादन गर्ने, कहिले गर्ने र के आवश्यक छ’ भनेर पत्ता लगाउनुपर्छ भन्ने धारणा राख्छन् ।
अन्तर्राष्ट्रिय बहिष्कार र आर्थिक दण्डको सामना गरिरहेका वेला उल्लिखित धारणालाई निराशाको अभिव्यक्तिको रूपमा व्याख्या गर्न सकिन्छ । यद्यपि, विश्व अर्थतन्त्र तथा विज्ञान, खेलकुद एवं संस्कृतिजस्ता अन्य क्षेत्रबाट रुसको बहिष्करण सोभियत अर्थव्यवस्था ब्युँताउने योजनाको मुख्य कारक होइन । हालको रुसको वैचारिक, सामाजिक र राजनीतिक प्रतिगमन मिखाइल गोर्भाचेभ र बोरिस यल्तसिनले प्रस्तुत गरेका उत्तर–सोभियतकालपछिको आर्थिक सुधार योजनाका ठीक विपरीत ढंगले स्थापित अवधारणा हो ।
सोभियत शैलीको अर्थशास्त्रसँग रुसको हालको मोह विडम्बनायुक्त छ किनभने सोभियत संघको कर्मचारीतन्त्रका साथै अक्षम र अन्ततः निष्प्रभावी अर्थतन्त्र नै सोभियत पतनको मुख्य कारण बनेको थियो । वास्तवमा रुसबजार अर्थतन्त्रबाट टाढिनुको पछाडि गम्भीर कारण विद्यमान छन् । पुटिनको युक्रेनमाथिको आक्रमण मेरा लागि इतिहासको पतनको द्योतक हो । तारतम्य मिलेको जस्तो नदेखिए पनि यो विनाशकारी युद्धका पछाडि दुई विश्वयुद्ध, सन् १९३० मा युक्रेनमा स्टालिनले मच्चाएको अनिकाल एवं अत्याचार, चेर्नाेबिल त्रासदी, र सोभियत संघको पतन जोडिन आइपुग्छ । ऐतिहासिक घटनाक्रमलाई एउटै घटनामा केन्द्रित गरेर संकुचित गर्दा ऐतिहासिक घटनाको कालक्रममा असहजता उत्पन्न हुने गर्छ ।
रुस अहिले साम्राज्यवादी परिकल्पना बुन्दै दोहन र पुनर्वितरणको नयाँ एवं हिंसात्मक लहर सुरु गर्न तयार देखिन्छ
यो असहजता लुइस क्यारोलको उपन्यास एलिस इन वन्डरल्यान्डमा देखाइएको ऐना हो जहाँ एलिस एक वैकल्पिक सत्यसँग परिचित हुन्छ । यथार्थको विद्रुपीकरणलाई भाषाले प्रतिबिम्बित गर्ने गर्छ । तसर्थ, युक्रेनमा भइरहेको युद्ध युद्ध नभई एक ‘विशेष सैन्य कारबाही’ हुनपुग्छ अथवा रुसीमाझ रुसी सेना आत्मसमर्पण नभई ‘नकारात्मक प्रतिरक्षा गर्छन्’ भन्ने चर्चित मजाक फैलिन पुग्छ ।
वैकल्पिक यथार्थ भाषामा मात्रै सीमित छैन । पुटिन २३ वर्ष सत्तामा रहँदा उनले रुसको आमचेतनालाई विकृत पारेका छन् र राजनीतिलाई बदलेका छन् । पछिल्लो चरणको पुटिनवादले सोभियत युगको स्थिरताको विशेषता नक्कल गरेको छ, जुन सन् १९६४ मा निकिता खुस्चेभको ठाउँ लियोनिद ब्रेज्नेभले लिएपछि प्रतिस्थापित भएको थियो (स्मरण रहोस्, पुटिनको पहिलो दुई कार्यकालमा पश्चिमापन झल्किन्थ्यो) ।
सन् २००८ मा जर्जिया र २०१४ मा युक्रेनमा भएको आक्रमणले पुटिनको रुसको उदासीनतालाई हटाउने र राजनीतिलाई पुनर्जीवित गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ । र, यही पुटिनवादले केन्द्रीय योजना ब्युँताउने बहस निम्त्याएको हो । युक्रेन युद्धको ऐनाबाट हेर्दा रुसले सोभियत इतिहासलाई दोहोर्याइरहेको छैन जसरी रुसले अहिले तीव्रताका साथ सोभियत इतिहासको झल्को दिन खोजिरहेको छ । पहिलो प्यातिलेत्कामा लेनिनको नयाँ आर्थिक नीतिले किसान र साना व्यवसाय मालिकलाई पर्याप्त पहलकदमीको अधिकार र स्वतन्त्रता प्रदान गरेको थियो । तर, पछि प्यातिलेत्का स्टालिनवादी अत्याचारको प्रतीक बनेको थियो ।
त्यसवेलाझैँ योजनाबद्ध अर्थतन्त्रले आज पनि सामूहिक दोहन निम्त्याउछ । सन १९२०को दशकको अन्त्य र सन १९३० को सुरुवातताका स्टालिनको सोभियत कृषिको सामूहिककरणका कारण लाखौ मानिस मारिएका थिए । त्यसैगरी उत्तर–कम्युनिस्टकालको उदारीकरणले निम्त्याएको ‘सक थेरापी’ले रुसमा नवधनाढ्य सम्भ्रान्त वर्गको निर्माण गर्याे । रुस अहिले साम्राज्यवादी परिकल्पना बुन्दै दोहन र पुनर्वितरणको नयाँ एवं हिंसात्मक लहर सुरु गर्न तयार देखिन्छ ।
हाल हिंसाको मुख्य तारो युक्रेनको सार्वजनिक एवं ऊर्जा पूर्वाधार बनेका छन । हालै रुसी डुमा (सदन)ले रुसी सेनाका कब्जामा रहेको युक्रेनी भूमिमा रुसी सेनाको अपराधलाई क्षम्य बनाउने कानुन पारित गरेको छ अर्थात युक्रेनी वस्तु एवं निजि सम्पत्तिको लुटमा पूर्ण छुट हुने कानुन ल्याइएको छ । तर जुन गतिले रुस विप्ल्याटो दिशामा गैरहेको छ त्यसले मुलुकमा गृहयुद्ध निम्त्याउदैन भनेर भन्न सकिदैन । र, रुसको उल्टो हिडाईका विरुद्ध रुसी बौद्धिक सम्भ्रान्तबाट असहमति झल्किन थालिसकेका छन ।
(मार्दर युनिभर्सिटी अफ द बास्क कन्ट्रीका दर्शनशास्त्रका अनुसन्धाता प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेट