यती विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४९ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौं आइपुग्ने जानकारी दिए । शव ल्याउन सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।    

चालक दलका सदस्यहरू, विदेशी नागरिक र पहिचान हुन नसकेका शव डिएनए परीक्षणका लागि मंगलबार काठमाडौंको टिचिङ अस्पताल पठाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । 

दुर्घटनामा बेपत्ता तीनजनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य  जारी राखेकाे छ ।     

सुझावित समाचार