‘छिट्टै आउँछु’ भनेका क्याप्टेन कमल सेती खाेँचमा अस्ताए

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

३१ वर्ष नेपालमै उडान भरेका पाइलट कमल केसी अनुभवी र परिपक्व पाइलटका रूपमा चिनिन्थे । लामो उडान अनुभवका कारण आन्तरिक उडानमा त उनी निकै पाका र पोख्त मानिन्थे । यसैकारण पनि एयरलाइन्सहरूले उनलाई नेपालका अप्ठ्यारा एयरपोर्टहरूमा उडान भर्ने जिम्मा दिन्थे । डोमेस्टिकका सबैजसो रुटमा उनले उडान भरेका थिए ।

पाका पाइलट भएकाले यती एयरलाइन्समा उनलाई प्रशिक्षक पाइलटको जिम्मा दिएको थियो । आइतबार बिहान काठमाडौं–पोखरा एटिआर उडानमा पनि केसी प्रशिक्षक पाइलटको रूपमा थिए । त्यसमा को–पाइलट अञ्जु खतिवडा थिइन् । तर, उडानमा तीन दशक बढीकाे अनुभव बटुलेका सिनियर पाइलट केसीको आइतबारको उडान जीवनकै अन्तिम बन्यो ।

आइबार बिहान १० बजे काठमाडौंबाट उडानका लागि पाइलट केसी ९ बजे नै घरबाट निस्किएका थिए । पोखरामै जन्मिएका केसी चारजनाको परिवारसहित काठमाडौं बुढानीलकण्ठस्थित इटालीटारमा स्थायी रूपमा बस्दै आएका थिए । आइतबार बिहान उनले कान्छो छोरा र श्रीमतीसँग रिटर्न उडान छिट्टै रहेकाले छिट्टै घर आइपुग्ने बताएका थिए । बिहान १०ः३० बजे ६८ यात्रु लिएर उनले पोखरातर्फ उडान भरेका थिए । तर, पोखरा विमानस्थल पुग्नै लाग्दा जहाज दुर्घटनामा पर्याे । छिट्टै आउँछु भनेका उनी कहिल्यै नफर्कने गरी अस्ताए ।

बुढानीलकण्ठस्थित केसीको घरमा अहिले श्रीमती शिलु केसी र एक छोरा मात्रै छन् । जेठा छोरा बैंककमा जागिर गर्छन् । कान्छो छाेरा स्कुल पढ्दै छन् । जहाज दुर्घटनामा परेको खबरले श्रीमती शिलु विक्षिप्त छिन् । उनलाई छिमेकीहरूले सम्हाल्ने काेसिस गरिरहेका छन् ।

सन् १९८९ देखि नेपाल एयरलाइन्सबाट उडान सुरु गरेका थिए
पाइटल केसीले सन् १९८८ मा अमेरिकाको टेक्सासबाट प्रोफेसनल पाइलट कोर्स गरेका थिए । कोर्स सकिएलगत्तै उनले नेपाल फर्किएर  सन् १९८९ मा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजबाट उडान भर्न सुरु गरेका थिए । सन् २००७ मा नेपाल एयरलाइन्स छाडेर यतीमा उडान भर्न थालेका उनले नेपालका लगभग सबैजसो हवाई रुटमा उडान भरेका थिए । लामो समय उडान भरेकाे अनुभवका कारण पनि उनलाई नयाँ एयरपोर्टहरूमा पनि उडान भर्ने जिम्मा दिइन्थ्यो ।

पोखरा विमानस्थल पनि नयाँ भएकाले आइतबार को-पाइलट अञ्जु खतिवडाको साथमा उनी पोखरा उडेका थिए । सधैँ सफल उडान भर्दै आएका केसीको आइतबारको उडान भने जीवनकै अन्तिम उडान बन्यो । उनले उडान भरेको जहाज बिहान करिब १०ः५१ तिर पोखरा विमानस्थलनजिकै सेती नदीको तीरमा बजारियो ।

‘क्लियर वेदर’मा पनि दुर्घटना
उडानको हिसाबले आइतबार पोखराको मौसम उपयुक्त थियो । ऐयरपोर्टको रनवे नयाँ भएकोले कम्पनीले परिपक्व पाइलटलाई उडानको जिम्मा दिएको थियो । सिकाउनका लागि पनि परिपक्व पाइलट प्रशिक्षकको रूपमा जाने गर्छन । तर, रनवे नपुग्दै जहाज सेती नदीमा खस्याे । जहाज दुर्घटनाकाे यकिन कारण भने खुलिसकेकाे छैन । कतिपय सिनियर पाइलटले रनवेको अध्ययन नै नगरी उडान भरिएको बताएका छन् । पोखराको रनवेमा एटिआर जहाज अवतरण गर्नेबारे अध्ययन नभएको उनीहरूकाे दाबी छ । उनीहरूले यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरी रहेकाे औँल्याएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रनवे टु-वान’ मा यतीलाई अवतरण गर्ने ठाउँ दिइएको छ । तर, त्यसको अध्ययन नभएको अधिकारीहरूले बताएका छन् । यो रनवेमा अवतरणका लागि आइतबार फेवातालको पछाडि अर्थात् पश्चिमतर्फबाट जहाज जाँदै थियो ।

सुझावित समाचार