मन्त्रिपरिषद् विस्तारकाे आजै टुंगो लाग्छ : प्रधानमन्त्री

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुंगो लाग्ने बताएका छन्। 

भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी ओलीनिवासमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरिने क्रममा प्रधानमन्त्रीले सञ्चारकर्मीसँग बताए।  
    
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ। बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुंगोमा पुग्छ।’
    
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मंगलबार पनि छलफल हुन्छ।’

आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ। 

सुझावित समाचार