संयम र जिम्मेवारी

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

चर्चित मोटर निर्माता कम्पनी फोर्डका मालिक हेनरी फोर्डलाई आफ्नो व्यक्तिगत कार चलाउने चालकको आवश्यकता थियो । उनले एक सञ्चारमाध्यममा चालकको आवश्यकतासम्बन्धी विज्ञापन प्रकाशित गराए । विज्ञापनपछि धेरैले सो पदका लागि आवेदन दिए । फोर्डका सहयोगीहरूले प्रारम्भिक छनोटबाट उत्कृष्ट तीन आवेदक छानेर अन्तर्वार्ताका लागि बोलाए । तिनको अन्तर्वार्ता स्वयं हेनरी फोर्डले लिने तय भएको थियो । 

निर्धारित समयमा तीनै उम्मेदवारहरू उपस्थित भए । उनीहरूलाई पालैपालो अन्तर्वार्ताका लागि फोर्डको कार्यकक्षमा बोलाइयो । फोर्डले पालैपालो तीनै उम्मेदवारलाई उनीहरूको विशेषताबारे प्रश्न गरे । पहिलो उम्मेदवारले उत्तर दिए– म निकै लामो समयदेखि गाडी चलाउँदै आएको छु । मसँग विभिन्न कार चलाएको अनुभव छ । म प्रतिघन्टा सय माइलभन्दा पनि तीव्र गतिमा सवारीसाधन हाँक्न सक्छु । 

दोस्रो उम्मेदवारलाई पनि सोही प्रश्न सोधियो । उनले पनि आफ्नो अनुभव र विभिन्न सवारीसाधन हाँक्न सक्ने दाबी गरे । उनले थप अगाडि भने– म तीव्र गतिमा गाडी कुदाउन त सकिहाल्छु । साथमा म ६ फिट लामा खाडलबाट पनि सजिलै पार 
लगाउन सक्छु । 

तेस्रो उम्मेदवारको पालो आयो । उनलाई पनि पहिलेकै प्रश्न दोहो¥याइयो । उनले शान्त हुँदै जवाफ दिए– म तीव्र गतिमा गाडी हाँक्न सक्दिनँ । म ४० देखि ६० माइल प्रतिघन्टाभन्दा बढी गतिमा सवारी हाँक्दिनँ । किनकि, तीव्र गतिमा सवारी हाँकेर म आफ्नो र मालिकको जीवनलाई जोखिममा पार्न चाहन्नँ । अन्त्यमा फोर्डले संयम र जिम्मेवार व्यवहारका कारण यिनै तेस्रो उम्मेदवारलाई आफ्ना चालकमा नियुक्त गरे ।

सुझावित समाचार