कर्णालीतिरका बादीलाई भिजी फाउन्डेसनको सहयोग

समाचार प्रभाव

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

कठ्याँग्रिने चिसोमा कर्णाली नदीछेउमा बस्न बाध्य १७ बादी परिवारलाई भिजी फाउन्डेसन काठमाडौंले सहयोग गरेको छ। बादी परिवार कर्णाली तीरमा बनाइएका झुपडीहरूमा कष्टपूर्वक बस्दै आएका छन्। 
कठ्यांग्रिने चिसोमा उनीहरूका भोग्दै आएको पीडाबारे गत ५ पुसमा नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि काठमाडौं थापाथलीमा रहेको भिजी फाउन्डेसनले सहयोग गरेको हो। 
फाउन्डेसनका राहुल श्रेष्ठले नयाँ पत्रिकाकर्मीमार्फत बस्तीका अगुवा धीरेन बादीको समन्वयमा बादी समुदायलाई चिसोबाट जोगिन विभिन्न सामग्री सहयोग गरेको छ। काठमाडौं पुगेका धीरेन बादीमार्फत २५ थान कम्बल, २५ थान पछ्यौरा खास्टो, ५० थान ज्याकेट, डेढ क्विन्टल चामल, ५० किलो दाल तथा ५० थान गिलास र प्लेट सहयोग गरिएको श्रेष्ठले जानकारी दिए। 
दैलेखको आठबिस नगरपालिका– १ को कर्णाली राजमार्गमा पर्ने रामघाट बजारनजिक १७ बादी परिवार चिसोमा कष्टपूर्वक बसिरहेका छन्। गत वर्ष आठबिस नगरपालिकाले जनता आवास कार्यक्रमअन्तर्गत बादी समुदायको सुरक्षित वासस्थानका लागि घर निर्माण गरिदिएको भए पनि गत असोजमा अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो बस्तीमा खसेपछि उनीहरू विस्थापित भएका हुन्। उनीहरू विगत २६ वर्षदेखि आठबिस नगरपालिका १ रामघाटमा बसोबास गर्दै आएका छन्। 

फोटोः बादी अगुवा धीरेन बादीलाई राहत सामग्री हस्तान्तरण गर्दै भिजी फाउन्डेसनका राहुल श्रेष्ठ । तस्बिरः नयाँ पत्रिका
 

सुझावित समाचार