उदयपुरको कटारीमा मैनी मेला सुरु

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– २  खोक्सामा मैनी मेला सुरु भएको छ । ककुर, तावा र कमला नदीको संगमस्थल त्रिवेणीमा माघेसंक्रान्तिदेखि १५ दिन लाग्ने त्रिवेणी अर्थात् मैनी मेला सुरु भएको हो ।

ककरु, तावा र कमला नदीको संगममस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको स्थानीय बुढापाकाको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वअघि माघ महिनाभरि लाग्ने मेला अहिले १५ दिन मात्र हुन थालेको स्थानीय मेघबहादुर कार्कीले बताए ।

पूर्वाञ्चलमै सबैभन्दा लामो समय लाग्ने मेलाको रूपमा परिचित यो मेलालाई मैनी वा त्रिवेणी मेला भनेर चिनिन्छ । यस त्रिवेणीमा माघेसंक्रान्तिदेखि मकर नुहाई पूजा–आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।

कार्कीका अनुसार छिमेकी जिल्ला सिराहा, सप्तरी, सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतबाट समेत तीर्थालुहरू आउने गरेका छन् । यहाँ भाकल गरेअनुसारको पशुपक्षी बलि दिनाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।
 

सुझावित समाचार