सोलुका अधिकांश होटेल, पसलमा छैन मूल्यसूची

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

सोलुखुम्बुमा सञ्चालित अधिकांश होटेल, पसलहरूमा मूल्यसूची नरहेको पाइएको छ । उपभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका अधिकांश होटेल, पसलहरूमा मूल्यसूची नहुँदा व्यापारीहरूको मनोमानी मूल्यसूचीको मारमा पर्ने गरेको उपभोक्ताको गुनासो छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा जिल्लाका कुनै पनि होटेल, पसलहरूमा मूल्यसूची नभएको पाइएको हो । सबै होटेल तथा पसलहरूमा मूल्यसूची राख्न निर्देशन दिइएको र अटेर गरे उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन् । 

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरूमा समेत विनामूल्यसूची खाद्यान्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् भने ग्रामीण भेगका सबै पसलहरूमा समेत मनोमानी रूपमा सामग्री बिक्री भइरहेका छन् । जसले गर्दा एउटै सामानको मूल्य पसलपिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ । पछिल्लो समय खाद्यान्नदेखि अन्य किराना सामग्रीको मूल्य घटबढ भइरहे पनि मूल्यसूची कायम गराउने सवालमा उद्योग वाणिज्य संघ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन् । 

जिल्लाको उद्योग वाणिज्य संघ निष्क्रिय हुँदा आफुहरूले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको संघका सहसचिव महेश खालिङ राईले स्वीकार गरे । जिल्लाको सदरमुकाममा पर्ने सोलु दूधकुण्ड नगरपालिकासहित थुलुङ दूधकोसी, नेचासल्यान गाउँपालिका, माप्य दूधकोसी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटेलहरूमा मूल्यसूची नभएको सम्बन्धित पालिकाले जनाएका छन् । 

सुझावित समाचार