बागमतीको उपसभामुखमा तीनजनाको उम्मेदवारी

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशको उपसभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट एमाले, कांग्रेस र नेमकिपाका गरी तीनजनाले उम्मेदवार दिएका छन्। उपसभामुखको निर्वाचन माघ २ गते सोमबार हुने तय भएको छ।

उम्मेदवारी दिनेहरुमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेका अप्सरा चापागाईं, नेपाली कांग्रेसको तर्फबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले छन्। उनीहरुले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दिर्ता गराएका हुन्।  

सत्ता गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो। सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईंले उम्मेदवारी दर्ता गरेकी हुन्। 

उपसभामुख पदमा उम्मेदवार बनेकी एमालेकी चापागाईलाई माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्तावमा राप्रपाकी आशा लामाले समर्थन गरेकी छिन्। सत्ता गठबन्धनमा रहेको एमालेकी चापागाईंलाई माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन छ। 

यस्तै कांग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी रहेका छन् भने समर्थकमा याङ्किला शेर्पा रहेकी छिन् । यसैगरी नेमकिपाकी काफ्लेको प्रस्तावकमा दलका प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साई र समर्थकमा सांसद सुजना सायजु छिन्।
 
यसअघि शुक्रबार पद तथा गोपनियताको सपथ लिएसँगै नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई उपसभामुखको निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका थिए। सोहि अनुरुप पौष २ गते सोमबार ३ बजेका लागि प्रदेशसभा बैठकको आव्हान गरिएको छ। 

उपसभामुख पदमा सत्ता गठबन्धन र कांग्रेस र नेमकीपाका उम्मेदवार बीच प्रतिस्पर्धा हुने पक्का छ। उक्त निर्वाचनमा सत्ता गठबन्धनका ४ वटा दलहरुको समर्थन एमालेबाट उम्मेदवार बनेकी चापागाईंलाई छ। चापागाईंलाई राप्रपा, माओवादी केन्द्र, र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। जस अनुसार चापागाईंलाई ६२ जना सांसदको समर्थन हुने देखिन्छ।

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाको १३ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। 

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन्। कांग्रेसकी उम्मेदेवार परियाको पक्षमा ३७ जना सांसद हुने देखिएको छ। यता नेमकीपाकी सयजुको पक्षमा ३ जना सांसद रहेका छन्। सातजना सांसद रहेको एकीकृत समाजवादी सभामुखको निर्वाचनमा तटस्थ बसको थियो।

सुझावित समाचार