भारतको ग्रेटर नोयडामा सुरु भयो अटो एक्स्पो (फोटोफिचर)

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको छ। अटो एक्स्पोमा सहभागी धेरै अटोमोबाइल कम्पनीले विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेका छन्। यो विश्वका ठूलो एक्स्पोमध्येमा पर्छ।

भारतका यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गडकरीले बिहीबार अटो एक्स्पो उद्घाटन गरेका हुन्। एक्स्पोमा विद्युतीय सवारीसाधन तथा भविष्यमा उत्पादन गर्ने कन्सेप्ट पनि सार्वजनिक गरिएका छन्।

एक्स्पोमा टाटाले अभेन्या, कर्भ, ह्यारियर विद्युतीय कन्सेप्ट सार्वजनिक गरेको छ। र, छिट्टै बजारमा आउन लागेको टाटा इभी टियागो पनि अवलोकनकर्ताको नजरमा परेको छ। यस्तै, कियाले विद्युतीय कन्सेप्ट इभी ९ र के ९ प्रदर्शनीमा राखेको छ।

एमजी, हुन्डाई, मारुती सुजुकी, किया, टोयोटा, लेक्सस, टाटा (कार, बस), बिवाइडीलगायत कम्पनीका दर्जनौँ विद्युतीय कार तथा कन्सेप्ट प्रदर्शनीमा राखेको छ।

हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को अपग्रेडेट भर्सन साहारुख खानले सार्वजनिक गरे। मारुती सुजुकीले विद्युतीय कन्सेप्ट एसयुभी इभिएक्स सार्वजनिक गरेको छ।

एक्स्पोमा लेक्ससको स्टलमा धेरै भिड लागेको छ। लेक्ससले दुई कन्सेप्ट इभी प्रदर्शनीमा राखेको छ भने  टोयोटाले बिजेडएस इभी प्रदर्शनीमा राखेको छ। अटो एक्स्पोमा ११ जनवरीलाई ‘मिडिया डे’ र १२ जनवरीलाई ‘बिजनेस डे’ भनिएको थियो। सर्वसाधारणका लागि एक्स्पो १३ गते शुक्रबारदेखि खुला गरिएको छ।

एक्सपोमा मिडिया डेको दिन विभिन्न ब्रान्डका ५९ वटा प्रोडक्ट सार्वजनिक भए। एक्सपोमा दुईपांग्रेदेखि ठूला बस तथा ट्रकसम्म  उत्पादन गर्ने ठूला–साना  कम्पनीहरूको सहभागिता छ।

एक्स्पोमा स्टार्टअप कम्पनी विद्युतीय दुईपांग्रे र तीनपांग्रे सवारीसाधनका लागि छुट्टै पेभिलियन राखिएको छ। एक्सपो जनवरी ११ देखि १८ सम्म ग्रेटर नोयडामा रहेको एक्सपो मार्टमा सञ्चालन भइरहेको छ।

सुझावित समाचार