‘टर्टल लाउन्ज एन्ड क्लब’ नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पपगायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एन्ड क्लब’ सञ्चालनमा आएको हो।
क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार क्लबमा विभिन्न खानाका परिकारका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिन्छ। ‘टर्टल स्थापना भएको पाँच वर्ष भयो। यो अवधिमा ग्राहकलाई सेवासहितको मनोरञ्जन दिँदै आइरहेका थियौँ। ग्राहकलाई थप मनोरञ्जन दिने हेतुले ठमेलकै मनोरञ्जनका लागि सुविधायुक्त ‘टर्टल लाउन्ज एन्ड क्लब’लाई नयाँ संरचनासहित सञ्चालन ल्याएका छौँ,’ ठकुरीले भने।
ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको सुविधा पनि लिन सक्नेछन्। उनका अनुसार क्लबमा लाइभ सांगीतिक प्रस्तुति दिने अवधिको समयलाई ‘लाउन्ज’ समय भनिएको छ। ‘त्यो समयमा पारिवारिक जमघट हुनेछ। वैवाहिक वर्षगाँठ, जन्मदिन मनाउन वा विभिन्न खाना खान परिवार आउनुभएको हुन्छ। लाउन्जको समय म्युजिक सुनेर ग्राहकले आनन्द लिन सक्नुहुन्छ,’ ठकुरी भन्छन्।
क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुन्छ। जसमा फरक–फरक ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछन्। ग्राहकलाई ‘टर्टल लाउन्ज एन्ड क्लब’भित्र प्रवेश गरेपछि समुद्रमा बसेको अनुभूत गराउने ठकुरीको भनाइ छ।