गाम्बिया मृत्यु प्रकरण : भारतको औषधि उद्योगमाथिको संकट

मिसावटयुक्त औषधिकै कारण सन १९९८ मा मुम्बईको एक ठूलो अस्पतालमा १४ व्यक्तिको मृत्यु भएको थियो, जुन मुद्दा अझै टुंगिएको छैन

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

गत जुलाईदेखि अक्टोबरका बीचमा गाम्बियामा ७० बालबालिका मिर्गाैला बिग्रिएर मरे । डिसेम्बरमा उज्वेकिस्तानमा मिर्गाैला र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिएर १८ व्यक्तिको मृत्यु भयो । गाम्बियाको संसदीय समिति र उज्वेकिस्तानका अधिकारीका आरोपअनुसार यी दुवै मामलामा भारतीय कम्पनी उत्पादित खोकीको झोल औषधि (कफ सिरप)को हात छ । भारतका लागि यो एउटा दुःस्वप्न हो ।

उज्वेकिस्तानको मामलामा औषधि उत्पादक मेरियन बायोटेकलाई फार्मेक्सिलबाट निलम्बित गरिएको छ । फार्मेक्सिल भारत सरकारसम्बद्ध एउटा व्यापार समूह हो, जसले फर्मास्युटिकल निर्यातमा भूमिका निर्वहन गर्छ । यो कम्पनीको बेवसाइट अहिले बन्द देखिन्छ ।

गाम्बियामा गडबडी पाइएको भनिएको औषधि उत्पादन गर्ने मेडन फर्माका एक कार्यकारीले एक भारतीय अखबारलाई बताएअनुसार उनको कम्पनी यी मृत्युबाट स्तब्ध र दुःखी छ । कम्पनीले आफ्नो फेसबुक पेजमा भारतस्थित एक सरकारी औषधि जाँच प्रयोगशालाको परीक्षणमा आफ्नो झोल औषधि समस्यारहित पाएको दाबीसहित एक रिपोर्ट पोस्ट गरेको छ । यसैबीच, गाम्बियाको सांसदहरूले मेडनलाई मुद्दा चलाउन सिफारिस गरेका छन् । यसबारे आफ्नो भनाइ राख्न द इकोनोमिस्टले गरेको अनुरोधमा यी दुवै कम्पनीले प्रतिक्रिया दिएनन् ।

यी दुवै साना र निजी स्वामित्वअन्तर्गतका कम्पनी हुन् । यद्यपि, यी कम्पनीका उत्पादन (कफ सिरप) र मृत्युबीचको सम्बन्ध प्रमाणित नै भने भइसकेको छैन । भारतमा गरिएको नमुना परीक्षणमा अहिलेसम्म मेडन दोषमुक्त छ । मेरिअनको अनुसन्धान भर्खरै सुरु भएको छ । यद्यपि यी घटनाले भारतको विशाल औषधि उद्योगको स्नायु केन्द्रलाई नै हल्लाएको छ । भारतका तीन हजार फर्मद्वारा सञ्चालित १० हजार कारखानाले वर्षमा लगभग ५० अर्ब अमेरिकी डलरबराबरको औषधि उत्पादन गर्छन्, जहाँबाट विश्वको २० प्रतिशत र अमेरिकाको जेनेरिक औषधिको ४० प्रतिशत आपूर्ति हुन्छ ।

भारतका तीन हजार फर्मद्वारा सञ्चालित १० हजार कारखानाले वर्षमा लगभग ५० अर्ब अमेरिकी डलरबराबरको औषधि उत्पादन गर्छन्, जहाँबाट विश्वको २० प्रतिशत र अमेरिकाको जेनेरिक औषधिको ४० प्रतिशत आपूर्ति हुन्छ । 

आफूलाई विश्वको फार्मेसी भन्न रुचाउने भारतका औषधि उत्पादकहरू स्क्यान्डल (काण्ड) लागि अपरिचित छैनन् । सन् २०२२ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले चार ठूला भारतीय कम्पनीमाथि इम्पोर्ट अलर्ट जारी गरेको थियो । सामान्यतः विदेशी कारखानाको निरीक्षण पछि जारी हुने यस्ता सूचनाले कुनै विशेष खेपमा खराबीको भौतिक प्रमाणविना नै अमेरिका निकासी अवरुद्ध गर्न सक्छन् । 

पर्याप्त प्रक्रिया नपु¥याइने र कमजोर गुणस्तर नियन्त्रण अत्यन्त सस्तो मूल्यका अँध्यारा पाटा हुन् । यही पक्षले विगत केही दशकयता भारतीय औषधि उद्योगको वृद्धिलाई मलजल गरेको छ । औषधि उद्योगका पूर्वकार्यकारी दिनेश सिंह ठाकुर र कानुनविद प्रशान्त रेड्डीको नयाँ पुस्तक ‘द ट्रुथ पिल : द मिथ अफ ड्रग रेगुलेसन इन इन्डिया’मा सन् १९७० को दशकयता बजारमा प्रवेश गरेका खतरनाक औषधिका कम्तीमा पाँच घटनालाई दस्ताबेजीकरण गरिएको छ ।

अरू थुप्रै घटनामा कमजोर उत्पादन विधिले अप्रभावकारी औषधिको उत्पादनतर्फ लगेका हुन सक्छन् । रेड्डी भन्छन्, ‘जटिल र अपारदर्शी निरीक्षण प्रणालीले गर्दा यी कमजोरी ओझेलमा परेका छन् । उनी र ठाकुरजस्ता ओलोचकले व्यक्त गरेका चिन्तालाई प्रायः बेवास्ता गरिन्छ वा घरेलु उद्योगको प्रतिष्ठामा आँच पु¥याएको भन्दै सरकारबाट धम्कीपूर्ण कानुनी नोटिस पनि आउने गरेका छन् ।’

रेड्डी पछिल्लो त्रासदीप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया निकै सुस्त भएको र सम्बन्धित आपूर्ति शृंखलाको विस्तृत सार्वजनिक संपरीक्षणको अभाव छ भन्छन् । यस्ता घटनामा छिटो निष्कर्षमा पुग्ने आशा कमै मात्र गर्न सकिन्छ । सन् १९९८ मा मुम्बईको एउटा ठूलो अस्पतालमा १४ जनाको मृत्यु भएको एक घटनामा अहिले पनि मुद्दा चलिरहेको छ । यस्तो अलमलले धेरै बिरामीको ज्यानलाई जोखिममा पार्छ । यसले अन्ततः औषधि उत्पादकलाई पनि हानि पुर्याउँछ । किनकि यो उद्योगको स्वास्थ्य तीनका ग्राहकको स्वास्थ्यसँग जोडिएको छ । 
– द इकोनोमिस्ट

सुझावित समाचार