अमेरिकाले युक्रेन युद्धको समाधान खोज्नुपर्छ

युक्रेन युद्ध जनरल ओमर ब्राड्लेका भाषामा ‘गलत स्थान, गलत समय र गलत शत्रुसँग लडिएको गलत युद्ध’ हो

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

युक्रेन युद्ध समाप्त गर्न अमेरिकाले जतिसक्दो चाँडो मस्कोसँग वार्ता गर्नुपर्छ । यदि बाइडेन प्रशासन यस्तो कदम चाल्न हिचकिचाउँछ भने रिपब्लिकन पार्टीले डेमोक्र्याट (बाइडेनको पार्टी)ले भन्दा भिन्न विदेश नीति लागू गर्नुपर्छ । बाइडेन प्रशासनका लागि युक्रेन युद्ध अफगानिस्तान एवं विश्वका अन्य भागमा भएको अमेरिकाको हार एवं अपमानबाट गिरेको साख जोगाउने माध्यम हो । वास्तवमा युक्रेन युद्ध जनरल ओमर ब्राड्लेका भाषामा ‘गलत स्थान, गलत समय र गलत शत्रुसँग लडिएको गलत युद्ध’ हो । 

उच्च प्रविधिको तानाशाही मोडल अपनाएर विश्वमा रजगज गर्न चाहने चीनले अमेरिकासँग गम्भीर प्रतिस्पर्धा गरिरहेको छ । युक्रेन युद्धले रुसको परम्परागत सैन्य शक्तिको सीमिततालाई उजागर गरेको छ । अमेरिकाले हतियार र ऋण दिएर हस्तक्षेप गर्दासम्म धेरैजसो युरोपेली मुलुकले रक्षामा पर्याप्त लगानी गर्दैनन् भनेर त्यहाँका सरकारले पुनर्पुष्टि गरेका छन् । 

युक्रेन नै गम्भीरतापूर्वक वार्तामा संलग्न हुन इच्छुक देखिँदैन । उसो त युक्रेनका राष्ट्रपतिले हालै मस्को वार्ताका लागि इच्छुक नरहेको दाबी गरेका छन्, तर यथार्थ निकै जटिल छ । भौगोलिक सीमामा लचकताविना कूटनीतिक समाधान गाह्रो छ भने यसका लागि दुवै पक्ष इच्छुक देखिँदैनन् । हातहतियार, युद्धपोत, गुप्तचरी, धनलगायत क्षेत्रमा अमेरिकामा आश्रित युक्रेन युद्ध अमेरिकाकाका लागि निश्चय नै नैतिक मुद्दा हो ।  

अमेरिकी सहयोगमा निर्भर र अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने भ्लोदोमिर जेलेन्स्की एक मात्र विदेशी युद्ध नेता होइनन् । सन् २००६ मा अमेरिकामा निर्भर इराकका नेता नुरी अल–मलिकी र सन् २००४मा अफगानिस्तानका प्रधानमन्त्री हमिद कार्जाईले पनि अमेरिकी कांग्रेसमा सम्बोधन गरेका थिए ।

इरान र अफगानिस्तान क्रमशः दुवै मुलुकमा व्यवहारतः र विधिवत् रूपमा अमेरिकी हितप्रतिकूल हुने गरी सत्ता परिवर्तन भएका छन् । यो प्रवृत्तिका सबैभन्दा ठूला पीडित तत्कालीन दक्षिण भियतनामका राष्ट्रपति ङो दिन्ह दिएम हुन् । जसले सन् १९५७ मा राष्ट्रपति आइसनहावर प्रशासनका वेला कंग्रेसमा सम्बोधन गरेका थिए । तर, आइसनहावरपछिका राष्ट्रपति जोन एफ केनेडीले समर्थन गरेको भियतनामी कुमा दिएम मारिए । अमेरिकी सेनाको समर्थनको रक्तपात करिब डेढ दशक चल्यो र अन्ततः अमेरिका गल्यो ।   

युक्रेनमा अमेरिकी नीति तय गर्दा भियतनामबाट अमेरिकाको फिर्ती नीति सान्दर्भिक छ । साइगन हनोईसँग वार्ता गर्न हिचकिचाइरहेको थियो । युद्ध असफल भइरहेको सन्दर्भमा तत्कालीन विदेशमन्त्री हेनरी किसिंगर पेरिस सम्झौता र अमेरिकी संलग्नता फिर्ता गर्न बाध्य भए । किसिंगरले हनोई (तत्कालीन उत्तर भियतनामको राजधानी)सँग सम्झौता गर्दा त्यसमा दक्षिण भियतनामलाई गाँसेका थिए । यो सुखद थिएन । उसो त युद्धको अन्त्य कहिल्यै सुखद हुँदैन, तर तत्कालीन राष्ट्रपति रिचर्ड निक्सन र विदेशमन्त्री किसिंगरले भियातनाम युद्धले सोभियत संघ सम्बन्धित मुद्दालाई ओझेल पारिरहेको छ भन्ने बुझेका थिए ।

अहिले वासिंगटनले युक्रेन मामिलामा भियतनाममा झैँ कदम चाल्नुपर्छ । किन ? रुसी राष्ट्रपति भ्लादमिर पुटिन र उनको सरकार युक्रेनसँग लामो समयसम्म युद्ध गरिरहन तयार देखिन्छ । रुस आफूलाई गतिरोधयुक्त युद्ध (फ्रोजन कन्फ्लिक्ट)मा सहज मान्छ । विगत एक वर्षदेखि पुटिन अस्वस्थ छन् वा पदबाट हट्ने तयारीमा छन् भन्ने हल्ला गलत साबित हुँदै गएको छ ।

सबैभन्दा सक्षम केन्द्रीय बैंकरमध्ये एक एल्भिरा नाबिउलिनाको नेतृत्वमा रुसी अर्थतन्त्र कमजोर भए पनि ठिकठाक नै चालिरहेको छ । मस्कोलाई अर्काे हिउँदसम्म युद्ध तन्काउने सुविधा छ, जबकि बाँकी युरोपले त्यसवेला आजको दिनभन्दा बढी ऊर्जा संकट व्यहोर्नुपर्ने हुन्छ । बढ्दो ऊर्जा मूल्य र ऊर्जाको कमीले युरोपको युक्रेनप्रतिको समर्थन तितरबितर हुनेमा राष्ट्रपति पुटिन आशावादी छन् । 

पहिलो वासिंगटनले चीनलाई नियन्त्रण गर्न सक्नुपर्छ, जुन पूर्ण रूपमा हुन सकिरहेको छैन । उदाहरण, युक्रेनले ताइवानले खरिद गरेको हतियार पाएको छ । युक्रेनलाई वासिंगटनले दिने भनिएको एक खर्ब डलरले प्रशान्त क्षेत्र (चीननजिकको क्षेत्र)मा महत्वपूर्ण प्रभाव पार्न सक्थ्यो । दोस्रो, कुनै पनि समाधानविना युक्रेन युद्धले वासिंगटनलाई लामो समयसम्म मुख्य प्रतिद्वन्द्वी चीनतर्फ ध्यान दिनबाट रोक्न सक्छ । अर्थात् नाविक एवं वायु सामथ्र्यमा अमेरिका र अमेरिकी सहयोगी प्रशान्त महासागरमा साँघुरिँदै जानेछन्, किनभने अमेरिकी सैन्यशक्ति मध्यपूर्व वा युरोपमै अल्झेको छ ।

तेस्रो अमेरिकी जनता र कंग्रेसले पुराना वाचामा रुचि नदेखाए बाइडेन प्रशासन वा उत्तराधिकार प्रशासनले युक्रेनलाई बेवास्ता गर्नेछन्, अर्थात् किभले रुससँग अहिलेको भन्दा धेरै गुमाउनुपर्ने हुन सक्छ । चौथो, यदि युक्रेन मामिलामा अनुकूल समझदारी नभई भियतनाम, इराक र अफगानिस्तानको नियति दोहारिन्छ भने अमेरिकी विश्वसनीयतामाथि ठूलो क्षति हुनेछ ।

के बाइडेन प्रशासन प्रत्यक्ष ढंगले वार्तामा सलग्न हुन सक्छ ? राष्ट्रिय सुरक्षा परिषद्का केही अधिकारीका अनुसार बाइडेन प्रशासन किभले मस्कोसँग वार्ता गरिदिओस् भन्ने चाहन्छ । तर, प्रशासनले यो कूटनीतिका लागि आवश्यक पहलकदमी लिन सकेको छैन । झन् अहिले त अमेरिकाको रुससँगको सम्बन्ध केनेडीको पालाभन्दा कमजोर बनेको छ । यदि बाइडेन प्रशासन पहलकदमी लिन इच्छुक छैन भने कंग्रेसका रिपब्लिकन सदस्य र राष्ट्रपति पदका उम्मेदवारले शान्तिका पक्षमा वकालत गर्न सक्छन् ।

आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सक्छन् । अर्थात् सेनालाई प्रशान्त क्षेत्रमा खटाएर चीनलाई नियन्त्रण गर्ने अभियान सुरु गर्न सक्छन् र ऊर्जा मूल्य घटाउन लागि पर्न सक्छन् । यसको सोझो अर्थ अन्तर्राष्ट्रिय बजारमा थप रुसी तेल र ग्यास आवश्यक पर्न जानेछ । अथवा रिपब्लिकनले डेमोक्रेट र मिडियाको उही ‘युरोप पहिला’ विदेश नीतिलाई नै निरन्तरता दिनेछन् र अर्काको युद्ध लड्ने अमेरिकी इतिहाससँग आजित मतदाताको प्रतिक्रिया कुर्नेछन् । 

(ह्विटोनले जर्ज डब्लु बुस र ट्रम्प प्रशासनका वरिष्ठ विदेश मामिला सल्लाहकारका रूपमा काम गरेका छन् । अहिले उनी द नेसनल इन्ट्रेस्टका वरिष्ठ अनुसन्धाता हुन्)द नेसनल इन्ट्रेस्ट 
 

सुझावित समाचार