नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण
नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–२० लिग उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई  २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेकाे हाे। 

प्रतियोगितामा १२ मध्ये दुई खेलमा पराजित लुम्बिनीले उपाधिसँगै ५० लाख प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार व्यहोरेको उपविजेता विराटनगरले ३० लाख पायो । तेस्रो भएको जनकपुर रोयल्सले दश लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख प्राप्त गर्‍याे ।

एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नाै रनमै समेटिएको थियो। विराटनगरका ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाएका थिए। ४० बलमा अर्जुनले एक चौका र दुई छक्का प्रहार गरे । तल्लोक्रममा क्रिजमा आएका पृथु बाँस्कोटाले २९ बलमा दुई चौका र एक छक्का मद्दतमा ३१ रनको योगदान गरेका थिए। 

हुसैन टलट आठ बलमा १३ रन बनाउन सफल भए । अन्य ब्याटर चल्न नसक्दा विराटनगरको उपाधि जित्ने योजना सफल भएन । ओपनर गौरांशु शर्मा चार, कप्तान रोहितकुमार पौडेल शून्य, राज नानन र विवेक यादव समान ६ रन तथा अमर रौटेला  आठ बनाएर पेभिलियन फर्किएका थिए। 

बलिङतर्फ लुम्बिनीका सागर ढकालले र हर्मित सिंहले सर्वाधिक दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका सागरले १९ र हर्मितले १६ रन खर्चिएका थिए । यसबाहेक विपुल शर्मा र किशोर महतोले समान एक विकेट लिन सफल भए। 

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो । लुम्बिनीको लागि श्रीलंकन खेलाडी लाहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । ओपनर मिलन्थाले २८ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए। 

अर्का ओपनर हर्मित सिंहले १८ बलमा तीन चौका र दुई छक्कासहित ३० रन बनाए । दुवैले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । मध्यक्रमका ब्याटर तथा कप्तान  दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाउन सफल भए । बाँकी खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । लुम्बिनीले एक्स्ट्रा चार रन पाएको थियो। 

बलिङतर्फ विराटनगरका नन्दन यादव र राज नाननले समान दुई विकेट लिएका थिए। केओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक–एक विकेट लिन सफल भए। प्रतियोगितामा लुम्बिनी, विराटनगर, जनकपुर, काठमाडौं, फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्ससहित ६ टोलीको सहभागिता रहेको थियो।  

सुझावित समाचार