नागरिक उन्मुक्तिले निर्णय नगर्दा सुदूरपश्चिममा सरकार गठन अन्योलमा, दाबी गर्ने समय पाँच बजेसम्म

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

निर्णायक मत रहेको नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा अन्योल देखिएको छ । प्रदेश प्रमुखले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय घर्किन लाग्दा सत्ता र प्रतिपक्षी दुवै नागरिकको निर्णयको पर्खाइमा छन् ।

सरकार गठनका लागि निर्णायक मत रहेको नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दा सुदूरपश्चिममा सरकार गठनको अन्योल देखिएको हो । 

प्रदेश प्रमुखले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय घर्किनै लाग्दा सत्ता र प्रतिपक्षी दुवै नागरिक उन्मुक्तिको निर्णयको पर्खाइमा छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादीको ११, एमालेको १० र राप्रपाको एक सांसदले सरकार बन्दैन । त्यस्तै, कांग्रेसका १९ र एकीकृत समाजवादीका चार सांसदले पनि सरकार बन्ने संख्या पुग्दैन । यस्तोमा सात सांसद रहेको नागरिक उन्मुक्तिसँग सत्ताको चाबी छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको एक साताको समय आज बेलुकी ५ बजे सकिँदै छ । तर, नागरिक उन्मुक्तिले सत्ता पक्ष वा प्रतिपक्षी कांग्रेसमध्ये कसलाई समर्थन गर्ने निर्णय अझै गरेको छैन । 

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले अबको एक घन्टाभित्र सरकारबारे निर्णय गरिने बताए । उनलाई कसलाई समर्थन गर्ने भन्ने निर्णय नभए पनि आफूहरू सत्ता पक्षसँगै मिलेर जान तयार रहेको बताए । 

रेशम चौधरीसहित टीकापुर घटनामा जेलजीवन बिताइरहेका सातजनालाई रिहा गर्ने सुनिश्चिततासहित लिखित प्रतिबद्धता आफूहरूले खोजेको उनको भनाइ छ । 

‘सत्ता पक्षले केन्द्रमा लिखित सम्झौता गरे र प्रदेशमा सम्मानजनक स्थान दिए हामी सहयोग गर्न तयार छौँ,’ चौधरीले भने ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको मत आवश्यक पर्छ । यहाँ माओवादीको ११ र एमालेको १० सिट छ ।

राप्रपासहित गठबन्धनको २२ सिट पुग्छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ नदिएको अवस्थामा गठबन्धनलाई बहुमत जुटाउन सकस हुनेछ । 

सुदूरपश्चिम सरकारको नेतृत्व सुरुको आधा कार्यकाल एमाले र दोस्रो कार्यकाल माओवादीले लिने सत्तासाझेदार दलहरूबीच केन्द्रमा सहमति भएको छ । 

केन्द्रमा सरकारलाई सुरुदेखि नै समर्थन गरेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नभए सरकारलाई समर्थन नगर्ने अडान राख्दै आएको छ । सुदूरपश्चिममा उसले सरकारको नेतृत्वसमेत दाबी गरेको छ । 

१९ सिट रहेको कांग्रेस एकीकृत समाजवादीलाई समेत साथमा लिएर नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिन तयार देखिएको छ । कांग्रेसबाट सहकार्यको प्रस्ताव केन्द्रीय तहमा समेत आएको प्रमुख सचेतक चौधरीले बताए  

कांग्रेसका १९, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका चारसहित ३० सिट पुग्छ । माओवादी, एमाले, राप्रपा, समाजवादी र एकजना स्वतन्त्र मिल्दा पनि सरकार निर्माणका लागि आवश्यक २७ सिट पुग्छ । 

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने नागरिक उन्मुक्तिले आफूलाई समर्थन गर्ने सहमति केन्द्रमा भइसकेको दाबी गरेका छन् ।

यस्तै, एमाले सुदूरपश्चिम प्रदेश सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले केन्द्रीय तहमा नागरिक उन्मुक्तिसँग सहमति भएको जानकारी प्राप्त भएको बताए । 

‘केन्द्रमा लगभग सहमति भइसकेको जानकारी आएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामी केहीबेरमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै छौँ ।’ 

सुझावित समाचार